गोरखा। नेपाली सेनाका गजेन्द्र राई यस वर्षको ‘म्यान अफ द गोरखा’ घोषित भएका छन्। दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई ’म्यान अफ द गोरखा’ बन्न सफल भएका हुन्।
द्रव्य शाहले राज्याभिषेक गरेको पस्लाङ चौतारादेखि पृथ्वीनारायण शाहले राज्यभिषेक गरेको गोरखा दरबारसम्मको आठ किलोमिटर दौड ३० मिनेट ६ सेकेण्डमा पूरा गरी राई ‘म्यान अफ द गोरखा’ बन्न सफल भएका हुन्। उनलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले द्रव्य शाहको पगरीसहित उनको समयको पोशाक पहिर्याएर सम्मान गरिएको थियो।
उनलाई द्रव्य शाहको पोशाकमा गोरखा महोत्सव मूल आयोजक समितिले झाँकी, र्यालीसहित बजार परिक्रमा गराउने कार्यक्रम रहेको दौडका आयोजक गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए।
त्यस्तै, ‘म्यान अफ द गोरखा’ दौड ३० मिनेट ५७ सेकेण्डमा पूरा गरी नेपाली सेनाकै मोहनदेव जोशी द्वितीय भएका छन्। नेपाली सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा सो दौड पूरा गरी तेस्रो स्थान हासिल गर्न सफल भएका म्यान अफ द गोरखा दौडका संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए।
सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वना स्थान हासिल गर्न सफल भएका खत्रीले बताए। दौडमा १६ जना सहभागी थिए।
‘म्यान अफ द गोरखा’ हुने राईलाई गोरखा महोत्सव मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट ३० हजार नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने उनले बताए। त्यस्तै, दोस्रो हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र सान्त्वनालाई नगद पाँच हजार मेडल र प्रमाणपत्रले पुरस्कृत गरएको उनले बताए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay