आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ र तनहुँ १ मा रास्वपाका उम्मेदवार भारी मतान्तरसहित विजयी भएका छन् । परम्परागत दुइ ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेलाई ठूलो धक्का दिदै रास्वपा सभापति रवि लामिछाने र नेता डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् । विजयी नेताहरुले आफुहरुको जित परम्परागत दलहरुका लागी एउटा ठुलो धक्का भएको भन्दै उनीहरु सच्चिनुको बिकल्प नरहेको बताएका छन् ।आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतपरिणामले परम्परागत ठूला दल नेपाली कांग्रेस, एमालेलगायतलाई ठूलो धक्का दिएको छ । चितवन निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६९ प्रतिशत मत लिएर विजयी भएका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै पाए । यसअघि ३८ हजार बढी मतान्तरसहित विजयी भएका लामिछानेले उपनिर्वाचनमा भने त्यो संख्यालाई अझै बढाउदै ४२ हजार बढी मतान्तर सहित विजयी भएका हुन् । रेकर्ड ब्रेक गर्दै भारी मतान्तर सहित दोस्रो पटक विजयी भएका सभापति लामिछानेले जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुको मुख्य जोड त्यसैमा रहने बताएका छन् । भष्टाचाररहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उनको भनाइ छ । त्यस्तै तनहुँ १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता डा. स्वर्णीम वाग्ले विजयी भएका छन् । यसअघि कांग्रेसमा आवद्ध डा. वाग्ले कांग्रेसबाट टिकट नपाएपछि बिद्रोह गर्दै रास्वपा छिरेर प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । चार महिनाअघि भएको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेलले फराकिलो मतान्तरले जितेको क्षेत्रमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि आइतबार भएको उपनिर्वाचनमा भने कांग्रेसले पकड जोगाउन सकेन । ०६४र ०७४ बाहेकका सबै निर्वाचनमा जित्दै आएको कांग्रेस यस पटक भने सत्ता गठबन्धनका दलहरुको साथ पाउदा समेत नराम्ररी पराजित हुन पुगेको छ । स्थानीयस्तरमा नागरिकसँग भिजेर ग्रामीण विकासको नेतृत्व गरेका भट्टराई पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका थिए तर पनि उनले रास्वपा उम्मेदवार वाग्लेको पक्षमा उर्लिएको जनलहर रोक्न सकेनन् । तनहुँ १ मा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याउदा कांग्रेसका भट्टराईले २० हजार १२२ ल्याए । विजयी वाग्लेले भने ३४ हजार ९१९ मत पाए । १४ हजार मतान्तर सहित विजयी वाग्लेले एकै धक्कामा राष्ट्रिय दल बन्न सफल रास्वपा नयाँ राजनीतिक झिल्को भएर उदाएको बताएका छन् । रास्वपाले परम्परागत दलहरुलदाई सुध्रन वाध्य बनाएको उनको भनाइ छ ।
त्यस्तै उपनिर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नदेखाएको स्वीकारेका छन् । उनले आगामी दिनमा पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको कांग्रेसका नेताहरु बताउछन् ।राजनीतिमा ऐतिहासिक विरासत जमाउँदै आएका देशका प्रमुख दुइ ठूला दल कांग्रेस र एमालेलाई भर्खरै जन्मिएर राजनीतिक मैदानमा उत्रिएको एक बर्ष पनि नभएको रास्वपाले कित सुध्रिने कि सक्किने भन्नेमा सोच्न बाध्।य बनाएको छ । यदि अब पनि ठूला भनिएका राजनीतिक दलहरु नसच्चिने र नयाँ खुलेका रास्वपालगायतका दलहरुले आफुलाइ केही फरक देखाउँदै जनताको मन जित्न सके निश्चय पनि आउदो ०८४ को निर्वाचनमा कायाँ पलट हुने निश्चित छ l