नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सांसदहरुको माग
२६ वैशाख २०८०, मङ्गलवार
नेपालि खबर
प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए । यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने सांसद गैरेको भनाई छ । उनले भने , ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ । कारबाही गरिनु पर्दछ । यतिमात्रै होइन । हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन । केही सांसदहरुलाई वारेन्ट गरिएको छ । भागी राख्नु भएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भईरहेको छ ? छानवीन के भईरहेको छ ? यसमा संलग्न को हुन ? यसमा सरकारले के गरिरहेको छ ?’ सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भईरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दवाव दिए । सांसद चौंधरीले भने , ‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा राख्दछ । त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ । त्यही मन्त्रालय अन्तरगत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ । हिजो, आज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भमा अगाडि बढिराखेको छ । म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ । त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु । यसमा यो वा त्यो, यो समय र त्यो समय नभनिकन निष्पक्ष रुपमा छानविन गरियोस् । र, दोषीलाई कारबाही गरियोस् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरिन् । उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिनु माग गरिन् । सांसद कार्कीले भनिन् , ‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आईरहेको छ । प्रहरीद्धारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाईरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाईरहने ? अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ? सबै सांसदहरुको सम्पत्ति वेबसाईटमार्फत सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाइन् ।