एजेन्सी । साफ अण्डर ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ।
पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४–० गोलको जितका साथ पुनरागमन गरेको थियो। भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन्।
दुई खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। भारत जारी प्रतियोगितामा अपराजित छ। पहिलो खेलमा भारतले भुटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग भने गोलरहित बराबरीमा रोकियो। चार अंककासाथ भारत शीर्ष स्थानमा छ।
समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। बंगलादेशले आजै भुटानसँग खेल्नेछ। राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ।
नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नु पर्नेछ। भारतलाई फाइनल पुग्न एक अंक पर्याप्त हुनेछ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay