एजेन्सी। नेपालका युवा ओपनर अर्जुन कुमालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३७ ओभरमा २ विकेट गुमाउँदै २ सय १५ रन बनाएको छ ।
अर्जुन कुमाल १ सय ११ बलमा १२ चौकासहित १ सय ८ रनमा क्रिजमा छन् । उनलाई कप्तान देव खनालले ८५ बलमा ५ चौका र १ छक्कासहित ७३ रनमा साथ दिएका छन् । अर्जुनले १ सय ७ बलमा आफ्नो क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका थिए । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए ।
ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । दीपकलाई अर्श साहिलले बोल्ड आउट गरेका थिए । सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी भने २ रनमा रन आउट हुन पुगेका थिए ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र दीपेश कँडेललाई आज नेपालले मौका दिएको छ । आकाश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । दीपेश बायाँ हाते स्पिन अलराउन्डर हुन् । नेपालले पहिलो खेलबाट दुर्गेश गुप्ता र मिलन बोहरालाई बेन्चमा राखेको छ ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्न पाउनेछ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay