Wednesday Sep 09, 2026


चर्च ब्वाइज र मनाङ अपराजित: पुलिस र एनआरटी जितविहिन

Image
५ चैत २०७९, आइतवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं:शनिवार मनाङ मर्स्याङदी क्लबले एपीएफ एफसीलाई हराएसँगै शहीद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणका खेल सकिएका छन्। लिगका पाँच चरण सकिँदा अंकतालिकामा लिग अघिको प्रक्षेपणहरु भन्दा केही फरक नतिजाहरु देखिए।

लिगको शीर्षस्थानमा अघिल्लो सिजनबाट 'ए' डिभिजन लिगमा प्रवेश गरेको सातदोबाटो युथ क्लब छ। उसले ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर शीर्षस्थानमा पकड बनाउन सफल भएको छ।

दोस्रो र तेस्रो स्थानमा अपराजित मनाङ मर्स्याङदी क्लब र चर्च ब्वाइज छन्। समान ३ जित र २ बराबरी खेलेका यी दुई टोली लिगका अपराजित टोली हुन्। इतिहासमा सफल मानिएको टोली मनाङले यसपाला राष्ट्रिय टोलीमा खेलिरहेका स्टार खेलाडीभन्दा पनि गण्डकी प्रदेशका युवा खेलाडीलाई प्राथमिकता दिँदै युवा टोली बनाएको थियो। जसले गर्दा प्रक्षेपण थियो : मनाङको प्रदर्शन खस्कनेछ। तर, मनाङले राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान बनाएको छ। पाँचौँ चरण सकिँदासम्म। त्यस्तै चर्च ब्वाइजले यसैपाला हो ए डिभिजन लिगमा डेब्यु गरेको। डेब्यु खेलमै जित निकालेको चर्च ब्वाइज हाल तेस्रो स्थानमा छ। खेलाडी अनुबन्धनमा आक्रामक देखिएको चर्चको स्टार खेलाडी पलायनमात्र भएन, अन्जन विष्टलेसमेत चोट ब्यहर्नुपर्‍यो। जसले गर्दा चर्च ब्वाइजलाई धक्का पर्ने देखिन्छ।

चौथो स्थानमा छ जावलाखेल युथ क्लब। साविक विजेता मछिन्द्र क्लबलाई आफ्नो पहिलो खेलमै स्तब्ध पार्ने टोली हो जावलाखेल। ५ खेल खेल्दा ३ जित १ हार र १ बराबरी खेल्दै जावलाखेलले १० अंक जोडेको छ।

नेपाली लिगको सदाबहार दाबेदार टोली र उपाधि उचाल्न भने सफल नभएको टोली हो त्रिभुवन आर्मी फुटबल क्लब।

'खेलाडी चोटमा नभएको र कम्बिनेसन राम्रो भएको' भन्दै उपाधिको दाबेदारी गरेको आर्मीको सुरुवाती ५ खेलमा भने केही फरक नजिता देखियो। आर्मीले २ जित, दुई बराबरी र एक हारसहित ८ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ।

फ्यान फलोइङ्सको हिसाबले कुनैबेलाको अब्बल टोली ललितपुरे क्लब थ्री स्टार क्लबले यो सिजनको पहिलो खेलमै पराजय ब्यहोर्‍यो एपीएफ एफसीसँग। स्टार खेलाडीले छाडेको मार खेपेको थ्री स्टारलाई पहिलो खेलमै एपीएफले हराएको थियो। अघिल्लो सिजन अधिकांश समय रेलिगेसन क्षेत्रमा संघर्ष गरेको एपीएफले यो सिजन भने मिडल टेबलमा आफूलाई उभ्याएको छ। अंक तालिकाको छैटौँ स्थानमा एपीएफ र सातौँ स्थानमा थ्री स्टार क्लब समान ७ अंक जोडेर रहेका छन्।

लिग जित्ने लक्ष्य लिएर खेलाडी अनुबन्धनमा लिगअघि आक्रामक देखिएको थियो संकटा क्लब। तर लिग चलिरहँदा संकटाका क्याप्टेन सुनिल बललगायत खेलाडी विदेश पलायन भइदिँदा उपाधि होडमै धक्का पुगेको छ। त्यस्तै नेपालमा चलेका विदेशी खेलाडी अनुबन्धन गरेर लिगमा वर्चस्व बनाउने लक्ष्य लिएको खुमलटारको पनि डेब्यु सिजनको सुरुवाती खेलहरु खासै राम्रो भएन। संकटा र खुमलटारले समान ६ अंक जोड्दै तालिकाको आठौँ र नवौँ स्थानमा रहेका छन्।

अघिल्ला दुई सिजनको च्याम्पियन मछिन्द्र क्लबका मुख्य खेलाडी यसपाला लाखापाखा लागे। कोही विदेश भासिए, कोही अरु क्लबमा पुगे। लिग अघिका गोल्डकपमा जस्तै मछिन्द्रको कुशल प्रदर्शन लिगमा हेर्न पाइरहेको छैन। पाँच खेलमा एक जितमात्र निकालेको मछिन्द्रले दुई बराबरी र दुई हार ब्यहोर्दै तालिकाको ११ औं स्थानमा छ। मछिन्द्रसँग समान ५ अंकको बराबरी गरेको हिमालयन शेर्पा १० औँ स्थानमा छ। त्यस्तै अघिल्लो सिजन रेलिगेसन क्षेत्रमा संघर्ष गरेको फ्रेन्ड्स क्लब रेलिगेसन क्षेत्रभन्दा एकस्थान माथि भए पनि कुनै पनि बेला रेलिगेसन क्षेत्रमा पुग्ने जोखिम रहनेछ। फ्रेन्ड्सले १ जित, १ बराबरी र ३ हार सहित ४ अंक जोडेको छ।

जारी लिगमा जित निकाल्न नसकेका दुई टोली हुन् - न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब। नेपाली फुटबलमा हाइ प्रोफाइल प्रशिक्षक राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले प्रदर्शन ठीकठाक गरे पनि नजिता ल्याउन सकिरहेको छैन। पाँच खेलमा ३ हार र दुई बराबरी खेल्दै एनआरटीको २ अंक छ टेबलमा। त्यस्तै कुनै बेलाको लिगकै च्याम्पियन र राष्ट्रिय टोलीका ;शक्त खेलाडीले हराभरा हुने टोली नेपाल पुलिस क्लबको प्रदर्शन बिर्सनलायक छ। रेलिगसनमा पुग्ने जोखिम बढेपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले विदेशी खेलाडी ल्याउन पहल गरिरहेको बताए। हाल विभागीय मध्येमा एपीएफसँगमात्र विदेशी खेलाडी अनुबन्धित छन्। पुलिसले १ बराबरी र चारवटा हार ब्यहोर्दै १ अंक जोडेर तालिकाको पुछारमा छ। अर्थात रेलिगेसन क्षेत्रमा एनआरटी र नेपाल पुलिस देखिएका छन्।

Advertisement

सम्बन्धित खबर