बारा । सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औँ जितपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रंगशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । पहिलो हाफको ३५ औँ मिनेटमा सातदोबाटोका कप्तान सुदीप गुरुङले टिमलाई अग्रता दिलाएका थिए ।
हिमालयन शेर्पाका डिफेण्डर म्यानुअल नानाको गल्तीको फाइदा उठाउँदै सातदोबाटोका कप्तान सुदीपले बललाई सहजै गोल पोस्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदीपले लिएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाइदा हिमालयन शेर्पाले लियो । करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्जुरी समयको केही सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काएका हुन् ।
दोस्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाइनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे ।
हिमालयन शेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डीबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोलरक्षक निशान्त थापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay