Wednesday Sep 09, 2026


अरबौं खर्चेर बनाईएका दर्जनौं विमानस्थल घाँसे मैदान बन्दै

Image
१ माघ २०७९, आइतवार
Avatar
गौरव अधिकारी

काठमाडौ । आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएसंगै रेसुंगा नगरपालिकाले नियमित सेवा नै अवरुद्ध गरि तामझामका साथ जहाजलाई स्वागत ग¥यो । यसरी जहाज दैलोमा आएको देख्दा गुल्मीबासी उत्साहीत त बने तर जहाज नियमित नचल्ने आशंका भने न नगरपालिकाले मार्न सक्यो, न नागरिक उड्यन प्राधिकरणले नै यो शंका निवारण गर्न सक्ने अवस्था छ । 

रेसुङ्गा विमानस्थल, गुल्मी

किनकी विगतमा यसैगरी धुमधामका साथ परिक्षण उडान भएका दर्जनौं विमानस्थलबाट नियमित उडान हुन नसकेर गौरचण बनेको उदाहरण प्रसस्तै छन ।  

इलामको फाल्गुनन्द विमानस्थलमा २०७८ फागुनमा यसैगरी धुमधामका साथ परीक्षण उडान भएको थियो । तर आज सम्म यो विमानस्थलमा केहि चार्टर उडान बाहेकका नियमीत् उडान कुनै पनि विमान कम्पनीले भर्न सकेका छैनन । यसरी परीक्षण उडान भएका र नभएका थुप्रै विमानस्थल सञ्चालनको प्रतीक्षामा छन । यसैगरी नियमीत् उडान हुन्छ भन्ने सपना देखाएर २०७४ सालमा बाग्लुङमा विमानस्थल कालोपत्रे गरियो । विमानस्थल केही समय सञ्चालनमा पनि आयो । तर अहिले यो विमानस्थल स्थानीयको गाईबस्तु छाड्ने चौर जस्तै वेवारिसे बनेको छ । त्यस्तै मनाङ विमानस्थल पनि राज्यकोषको करोडौं सकेर कालोपत्रे गरियो तर विमानस्थल सञ्चालनमा आउन सकेन ।

मनाङ विमानस्थल 

विज्ञहरुका अनुसार, यो जुनसुकै विमानस्थल आयोजनाको सञ्चालन अवस्था र आवाश्यकताको दीर्घकालीन अध्यन नगरिंदाको परिणाम हो । विमानस्थलको माग आउंदैमा राजनीतिक तथा प्रशासनीक दवावमा यात्रु तथा नियमीत् व्यापारीक संभावना अध्यन नै नगरि लहडको भरमा विमानस्थल निमार्ण गर्ने परिपाटीले मुलुकमा यस्तै यस्तै प्रयोगविहिन दुई दर्जन विमानस्थल बनाईएको छ र त्यसै अलपत्र छाडीएको छ ।

विमानस्थल सन्चालनमा आएपछि अथवा विमानस्थल निमार्ण गर्दै गर्दा यात्रुको आकर्षण बढाउन नसक्दा राज्यकोषको अरवौं रुपैंया बालुवामा पानी बनेर खेर गएको छ । सम्बन्धित निकायले यसरी तयारी अवस्थामा रहेका विमानस्थलमा नियमीत् उडान भर्न कुनै पनि वायुसेवा कम्पनीलाई दवाव पनि नदिने भएकाले निजी वायुसेवाहरु, व्यापारीक गन्तव्यमा मात्रै बढी झुम्मिएका छन् ।

हालै सन्चालनमा आएको सुनसान पोखरा विमानस्थल

विज्ञहरुका अनुसार, यात्रु आगमनमा वृद्धि, जहाज चढ्ने वातावरण, सस्तो भाडादर र वायुसेवा कम्पनीलाई मुनाफा सुनिश्चित भएमा विमानस्थल सहजरुपमा चल्न सक्छन । जसरी भद्रपुर, जनकपुर, राजविराज, सिमरा, भरतपुर जस्ता विमानस्थलमा नियमीत् उडान छैनन् तर उडान भर्ने वायुसेवाले यी रुटमा नाफाको व्यापार गरिरहेका छन् ।

तथ्यांक अनुसार नेपालमा अहिले ५३ वटा विमानस्थल तयारी अवस्थामा छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३३ वटा विमानस्थल मात्रै नियमित सञ्चालनमा छन् । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सहित नेपालगञ्ज, विराटनगर, चन्द्रगढी, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम सल्ले, रुम्जाटार, ताप्लेजुङ, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी मात्रै अहिले सञ्चालनमा छन । अहिले फाट्टफुट्ट जहाजहरु अवतरण भएता पनि पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन दिर्घकालिन बन्न नसक्ने आशंका उव्जिएको छ । 

जोमसोम

तर विगतमा राम्रै चलेका कतिपय विमानस्थल यतिबेला सडक यातायातको पहुँच विस्तारसँगै अस्तित्व नै मेटिने अवस्थामा पुगेका छन । चितवनको मेघौली, कैलालीको टीकापुर, सोलुखुम्बुको स्याङ्बोचे, दोलखाको जिरी, बाग्लुङको ढोरपाटन र गोरखासहितका विमानस्थलको अस्तित्व पछिल्लो समय संकटमा पर्ने अवस्थामा पुगेका छन । कराडौँको लगानीमा विमानस्थल निर्माण गरिएता पनि उचित पुर्वाधारको विकास नहुनुले कतिपय विमास्थल यसै संकटमा परेका छन । 

इलाम विमानस्थल

नजिकैको भरतपुर विमानस्थल ठूला जहाजका लागि पूर्वाधार बनेपछि मेघौली विमानस्थल संकटमा पर्नु स्वाभाविक थियो । तीन घण्टा सडक यातायातबाट पुगिने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाग्लुङको बलेवा विमानस्थल अब सहजै सञ्चालनमा आउने सम्भावना कम देखिन्छ । त्यसमा पनि पोखरा–बाग्लुङ सडक यातायातको स्तरमा सुधार आएसँगै यो सम्भावना झन बलियो भएको छ । 

त्यस्तै दोलखाको जिरी विमानस्थल पनि नियमीत् उडान हुन नसकेर अलपत्र अवस्थामा छ । किनकी नजिकैको लुक्ला विमानस्थलमा अत्याधीक उडान चाप छ । यसैको असर जिरी विमानस्थलले खेपेको हो । 

जिरी विमानस्थल

पर्यटकीय दृष्टिकोणले प्रशस्तै सम्भावना बोकेको मनाङ विमानस्थल पनि सञ्चालनमा आउन सकेको छैन । होटल पूर्वाधारको अभाव, न्यून जनसंख्या र पर्यटन प्रवर्धनको अभावले मनाङमा आवतजावत कम हुँदा योे विमानस्थल सञ्चालनमा ल्याउन नसकिएको हो । जबकि छिमेकी जिल्ला मुस्ताङमा रहेको जोमसोम विमानस्थल भने पर्यटनकै कारण राम्रैसँग चलिरहेको छ । 

गुल्मीमा २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । पर्यटन मन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको मौकामा ज्ञवालीले अगाडि बढाएको यो विमानस्थलको विस्तृत व्यावसायिक सम्भाव्यता अध्यन कहिल्यै भएन । राज्यले पूर्वाधारका क्षेत्रमा गर्ने लगानीलाई नाफा–नोक्सानको व्यापारी आँखाले मात्र हेर्नुनहुने तर्क सहित सुरु भएको यो विमानस्थल, अहिले सन्चालनमा त आएको छ तर उडानको सुनिश्चितता छैन । विमानस्थलको सञ्चालन खर्च राज्यकोषबाट नियमीत भर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा नागरिक सेवा पनि हुने र सञ्चालन खर्च पनि धान्ने सन्तुलित अवस्था निर्माण गर्न नसक्ने हो भने भावनात्मक रूपमा मात्रै विमानस्थल सञ्चालनमा ल्याउन कठिन हुने प्रष्टै छ ।  

हालै सन्चालनमा आएको सुनसान भैरहवा विमानस्थल

पछिल्लो समय विमानस्थल राजनीतिक लाभको लागि मात्रै बन्ने गरेका छन्, त्यसैले विमानस्थलले न यात्रुलाई आर्कषण गर्न सकेका छन न विमानस्थलका लागि पर्याप्त पुर्वाधारको विकासनै हुन सकेको छ । नेपालमा पछिल्लो समय अगाडि बढाइएका अधिकांश आन्तरिक विमानस्थल आयोजना व्यावसायिक रूपमा दिगो हुन्छ, हुन्न भन्ने अध्ययन नगरी राजनीतिक लाभका लागि नेताको जोडबलमा बनेका छन । जस्तो कि इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जोडबलमा विमानस्थल आयोजना अगाडि  त बढ्यो तर त्यहाँ जहाज उडाउने कस्ले ? 

राजनीतिक जोडबलमा विमानस्थल आयोजना अगाडि बढाउने प्रयास निरन्तर चलिरहेको छ । पूर्व पर्यटनमन्त्री प्रेम आलेले प्राधिकरणको बजेटमा महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको शिलान्यास समेत गराए । धनगढीमा ठूलो विमानस्थल रहेको अवस्थामा यो विमानस्थल व्यवसायिक रुपमा सञ्चालन हुने सम्भावना कम हुँदा हुँदै  आलेले  यो विमानस्थल निर्माणका लागि आखिर किन गरे त जोडबल ? प्रश्नको जवाफ छैन ।

अघिल्लो सरकारले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न भनेर बजेट छु्ट्याएको थियो । यता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुमको चुहानडाँडामा पनि विमानस्थल आयोजनाका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकनको चरणमा पुगेको छ ।

धनगढी  विमानस्थल

त्यस्तै एमाले नेता गोकुल बास्कोटाको गृह जिल्ला काभ्रेमा र  निवर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काको गृह जिल्ला उदयपुरमा समेत आन्तरिक विमानस्थल बनाउन निकै ठूलो जोडबल गरिएको छ । तर, यहाँ पनि व्यावसायिक रूपमा विमानस्थल संचालनको सम्भावना छ छैन भन्ने भरपर्दो अध्ययन भएकै छैन । 

यसरी देशका विभिन्न स्थानमा राजनीतिक लाभका लागि विमानस्थल निर्माण कार्यलाई तिव्र पारिएको छ । तर क्षणिक फाईदाको लागि बनाईएका यि विमानस्थल सञ्चालन गर्न कति सहज छ यसको लेखाजोखा कहीँ कतै कसै संग पनि छैन । 

यसैबीच, नेपाल एयरलाइन्सले आजदेखि हप्तामा एक दिन इलाममा उडान गर्ने भएको छ।  सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको छ। एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान हुने भएको हो। 

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल

काठमाडौँबाट उडान भर्ने तालिका रहेको नेपाल एरलाइन्सले जनाएको छ । इलाममा आज करिब ९ बजे पुग्ने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले जानकारी दिए । उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको बताए ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ। इलामबाट काठमाडौँको एकतर्फी भाडा  हजार तीन सय रुपैंया तोकिएको छ । काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ । तर एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कर बाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

Advertisement

सम्बन्धित खबर