Wednesday Sep 09, 2026


कांग्रेस सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेल समस्यामाः गठबन्धनमा दरार

Image
८ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

मकवानपुर–बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने गरी आज बुधवार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएका छन् । कांग्रेसका सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित भएकाे छ । अब फेरि यही चैत १० गते विश्वासकाे मत लिने तयारी गरिएको छ । 


कांग्रेस र माओवादीकाे हानथापका कारण सरकारबाट बाहिरिने तयारी गरेको नेकपा एमालेले पनि आज बाहिरिएन । प्रदेश सभा बैठकमा सहभागी भएर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सम्बाेधनकै क्रममा सरकारबाट बाहिरिने घोषणा गर्ने र पछि पत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी थियो । कांग्रेसले एमालेले राजीनामा नदिएसम्म सरकारमा सहभागी नहुने बताइरहेको छ । 

कांग्रेस पार्टीभित्रको विवादपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रमसमेत स्थगित भएको हो । हेटौँडामा प्रदेश सभा बैठकका लागि बोलाइएको समयमा नै काठमाण्डौमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । 

बुधबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेसका सांसदहरु काठमाडौं हिँडेपछि बैठक स्थगित गर्ने तयारी गरिएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य सरल सहयात्रीले जानकारी दिए। 

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेतृत्वमा आलोपालोको सहमति नभएकाले आफूहरु अनुपस्थित भएको बताए। 

‘संसदीय दलको बैठक बस्नुपर्ने भएर समय सार्न माग गरेका थियौैं। मुख्यमन्त्रीजीसँग छलफल समेत भएको छैन। आलोपालो गर्नुपर्नेबारे दुई दिनको लागि समय मागेका थियौं,’ उनले भने। 

दलका नेता लामाले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत दिन कुनै दुविधा नभए पनि प्रदेश सरकारहरूको नेतृत्वको बारेमा सहमति नभएकाले स्थगित गर्नुपरेको बताए।

उनले नयाँ समीकरणमा केन्द्रबाट कुन प्रदेश कसको भागमा पर्छ सोही अनुसार अगाडि बढ्ने बताए। नेता लामाले आज काठमाडौंमा आफूहरूबीच प्रदेश सरकारको नेतृत्व कसले पहिला गर्ने भन्नेबारे छलफल गरेको बताए। 

‘उहाँलाई विश्वासको मत दिने कुरामा कुनै दुविधा छैन्। आलोपालो शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रधानमन्त्री उहाँहरुले पाएपछि मुख्यमन्त्री हाम्रो हुनुपर्ने भन्नेछ,’ उनले भने। 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

राप्रपा बाहिरिए पनि अहिलेसम्म एमाले भने सरकारमै छ। सरकारमै भए पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एमाले अलमलमा छ । 

११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७, नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

Advertisement

सम्बन्धित खबर