Saturday Apr 18, 2026


बागमती प्रदेशसभाको बैठक बस्दैः एमाले आजै सरकारबाट बाहिरिने

Image
१० चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन्। आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 


बुधबारका लागि बोलाइएको बैठक कांग्रेसका सांसद उपस्थित नभएपछि आजका लागि सारिएको हो। बुधबार कांग्रेसका प्रदेश सांसदहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल गर्न काठमाडाैँमा संसदीय दलको बैठक राखेका थिए। बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय गरेको छ। 


कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै अलमलमा रहेका मुख्यमन्त्री जम्मकट्टेल ढुक्क देखिएका छन्। आफूले संसदबाट विश्वासको मत पाउनेमा कुनै शंका नरहेको मुख्यमन्त्री जम्मकट्टेल बताउँछन्। उनले भने, ‘बुधबार कांग्रेसको आन्तरिक छलफलका कारण संसदीय समितिको बैठक राख्दा प्रदेशसभा बैठक बस्न नभ्याएको हो। मलाई विश्वासको मत नदिने भन्ने रणनीतिले होइन। अहिले कांग्रेसलगायत ४ दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन्। विश्वासको मत पाउँछु भन्नेमा शतप्रतिशत ढुक्क छु।’


मुख्यमन्त्री जम्मकट्टेलका अनुसार उनलाई गठबन्धनमा रहेका ४ दलले विश्वासको मत दिने पक्का भएको छ। माओवादी, कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने बताएका छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। यी सबै जोड्दा कूल ६८ हुन आउँछ। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन भए पुग्छ। 


यता, सरकारबाट बाहिरिन लागेको एमाले, सरकार छाडिसकेको राप्रपा र नेपाल मजदुर किसान पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। पहिलोपटक संसद्‌बाट विश्वासको मत लिँदा नेमकिपा बाहेक ६ दलको १०५ समर्थन पाएका मुख्यमन्त्री जम्मकट्टेलले दोस्रोपटक विश्वासको मत कम पाउने आकलन गरिएको छ।

यसैबीच,बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री आज सरकार छाड्ने तयारीमा जुटेका छन्। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारीमा रहेको हो। 



केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा रहेको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए। सत्ता बाहिर बस्ने निर्णयमा पुगेको एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्रोतको दाबी छ। 



यता, एमाले बागमती संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले आजको बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने बताए।


‘हामीले बुधबार नै सरकार छाड्ने तयारी गरेका थियौं। बैठक बस्न नसकेपछि राजीनामा नदिएका हौं। आज बैठक बसे आजै राजीनामा दिन्छौं’, थपलियाले भने।

Advertisement

सम्बन्धित खबर