वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
फागुन ८ गते बुधबार नै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरे पनि नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि प्रदेशसभाको बैठक दुईदिन सारिएको थियो ।
सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जाहेर गरेका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । उनको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र हाम्रो नेपाली दलले मत जाहेर गरेका थिए ।
प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । ५६ मत भएको खण्डमा जम्कट्टेलाई बहुमत पुग्ने थियो । उनको विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो । सदनमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् । जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
गण्डकीको सरकार संकटमा
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।
एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ । यद्यपि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई सिट रहेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay