गण्डकीव्युरो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक स्तरउन्नति कार्य रोकीएको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम रोकीएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक विस्तारको काम निर्माण सामग्रीको अभावमा रोकिएको एपेक्स खड्का कृष्ण जेभिले लिखित रुपमा जानकारि गराएको छ । ठेकदार कम्पनीले आज बेनी जोमसोम कोरला सडक आयोजना कार्यालय कालिगण्डकी करिडोर, जोमसोमलाई पत्र लेखेर कच्चा पदार्थ अभाव भएकाले ठेक्का सम्झौता अनुसार कामलाई निरन्तरता दिन नसकिएको प्रष्ट पारेको हो ।
पटक पटक निमार्ण सामाग्री अभावका बिषयमा आयोजना कार्यालयलाई जानकारि गराउँदै निर्माण कार्य जारी राखेको निर्माण कम्पनीले गत माघ १७ गते ढुंगा, गिटी,बालुवा तथा ग्राभेल व्यवस्थापनका लागि विभिन्न सरकारी निकायलाई बिपक्षी बनाएर सर्वोच्च अदालत्मा मुद्धा समेत हालेको थियो । तर पनि, राष्ट्रिय गौरवको आयोजना समयमै पुरा गर्ने बिषयमा कुनै पनि निकायले सहजिकरण नगरेपछि अहिले सम्पूर्ण काम रोक्नुपरेको ओमकारेश्वरका आधिकारीक प्रतिनिधि अमृत दाहालले बताएका छन् ।
निमार्ण कम्पनीले, यो बीचमा ठेक्का सम्झौता अनुसार काम गर्ने क्रममा स्थानीय क्रसर उद्योगबाट महंगो मुल्यमा निमार्ण सामाग्री खरिद गरेको तर पनि गत पुष ११ गतेबाट आजसम्म काममा खटिएका मजदुरलाई पर्याप्त कामका लागि सामाग्री जुटाउन नसकेकाले ठूलो नोक्सानी व्यहोर्नुपरेको दावी गरेको छ ।
सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिएका कारण काम रोक्नुपरेको दाहालले बताए ।
सडकको क्षेत्रमा ढुंगा नै निस्कँदैन, नजिकै बगेको नदीबाट कच्चा पदार्थ निकाल्न स्थानीय प्रशासनले रोक लगाएको छ, सर्वोच्च अदालतसम्म निकासका लागि पुगेका थियौं तर कतैबाट पनि निमार्ण सामग्री निकाल्न नपाएपछि गाडी र कामदार थन्क्याएर हिँड्ने अवस्था आयो, दाहालले वागमती रफ्तारलाई भनेका छन् । सडक आयोजना कार्यालयलाई लेखेको पत्रमा ठेकदार कम्पनीले, कच्चा पदार्थ अभावका कारण व्यहोर्नुपरेको नोक्सानीको समेत क्षतीपुर्ति दावी गरेको छ ।
तिहार अघिसम्म ठेकदार कम्पनीले तीव्र गतिमा काम गरेर ६ किलोमिटर सडक विस्तार, नाली र पर्खाल सकेर ग्राभेल गर्न सुरु गरेको थियो । तर त्यसपछि निरन्तर निमार्ण सामाग्री अभाव भएको कम्पनीको भनाई छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशअनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लागेपछि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुंगा–बेनी सडक स्तरोन्नति ठप्प भएको हो ।
दाहालका अनुसार, ठेक्का सम्झौतामा सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थ कालीगण्डकी बाटै निकाल्ने उल्लेख छ । तर नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर नै बन्द छ । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि लामो समय सयौँ मजदुर, दर्जनौं डोजर, ट्रिपर थन्क्याएर राख्न सकिएन, दाहालले भने– कालीगण्डकी धार्मिक नदी हो तर जथाभावी उत्खनन नगरि यसको संस्कृति र सभ्यता जोगाउने गरि काम गर्न खोजेका थियौं । सडक विस्तारका क्रममा विभिन्न ठेकदार कम्पनी तथा व्यवसायीले जथाभावी उत्खनन् गर्न थालेपछि, सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुंगागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन् ।
यही विवादका बीचमा, जलजला गाउँपालिकाले सर्वोच्च अदालतमा पत्राचार गर्दै राष्ट्रिय गौरवको आयोजना नै बन्द हुने अवस्था भएकाले आयोजनाका लागि मात्रै भए पनि उत्खननको अनमुति दिन र मुद्दालाई छिटो किनारा लगाउन पत्राचार गरेको दावी गरेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
निमार्ण सामाग्री अभावका कारण काम रोकीएपछि, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुसको दोस्रो साता मालढुंगादेखि तिब्बतको सिमाना कोरला नाकासम्म अनुगमन गर्दै समस्याहरू फुकाउन पहल गर्ने प्रतिबद्धता जनाएर फर्किएका थिए । तर एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले गत कात्तिक ६ गतेयता सडक निर्माणको काम गरेको छैन । ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा र रोडा नपाएपछि काम रोक्नुपरेको बताएका छन् । बेनी जोमसोम–कोरला ११० किलोमिटर सडक सात खण्डमा विभाजन गरी काम भईरहेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay