काठमाडौ । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घले गम्भीर ध्यानकर्षण भएको बताए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको छ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम नागरिकले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घले माग गरेको छ ।
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा पर्ने भएका छन् । यसको जिम्मेवारसमेत सरकार नै रहेको सङ्घका महासचिव डा. बद्रि रिजालले बताएका छन् । डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई कुट्ने प्रहरी निलम्बनमा परेका विषयमा पनि टिप्पणी भइरहेको छ । व्यक्तिलाई निलम्बन गर्नुभन्दा पनि प्रवित्तिको अन्त्य गर्नु पर्नेमा धेरैको जोड छ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।
अस्ति राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको छ ।
घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा घाइते भएका डाक्टरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay