काठमाण्डौ।रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ।
समानुपातिक सांसद श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेको छ। अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै पैसा मागेका छन् ।
माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो सम्वादमा सांसद श्रेष्ठले ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’ भन्दै पैसा मागेका छन्।
सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद श्रेष्ठले बताएका छन् ।
‘मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो’–श्रेष्ठले भनेका छन्–‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २÷३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’
व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईँलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’ उनले भनेका छन्।
सम्वादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईँ गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए ।
त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए ।
आफ्नो सांसदले मन्त्री बन्नका लागि पार्टीमा बुझाउनुप¥यो भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने बताएको छ । सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउन लागिएको रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
पार्टीले कारवाही गरेपछि उनको सांसद पद पनि निलम्वनमा पर्ने सम्भावना रहेको जानकारहरु बताउँछन्। व्यवसायी प्रसाईं र सांसद श्रेष्ठ दुवै सम्पर्कमा आएका छैनन् ।
सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आएका थिए। उनी अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपचलन गरेको आरोप छ।
२ करोड माग्ने सांसद निलम्वित
चुनावको मुखमा २ करोड घुस प्रकरणमा जोडिएपछि रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गरेको छ।
श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजिनक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएको थियो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । यसबारेमा महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाले जनाएको छ ।
अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको र रविका मान्छेले साढे दुई करोड मागेकाले सहयोग गर्न प्रसाईलाई आग्रह गरेका छन्।
उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् । प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेका छन् ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई तत्कालनै निलम्वन गरेको हो। चुनावको मुखमा परेकाले उनलाई निलम्वन गरिएपनि चुनावपछि घट्नालाई सामसुम पारेर निलम्वन फुकुवा गरिने जानकारहरु वताउँछन्।
घुस प्रकरणमा जोडिएपछि सभापति लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेलसमेत हार्ने सम्भावना वनेपछि रणनीतिक रुपमा तत्काल श्रेष्ठलाई निलम्वन गरिएको उनीहरुको दावी छ।
बैशाख १० गते हुने उपचुनावमा चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेल उम्मेदवार छन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay