Saturday Jun 06, 2026


भरतपुर क्रिकेट रंगशाला अलपत्रः करोडौं अपचलन !

Image
२३ माघ २०७९, सोमवार
Avatar
हाम्रो 6

चितवन । चार वर्षअघि अर्थात २०७५ साल माघ १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिभिन्न दलका नेताको उपस्थितिमा घोषणा भएको चितवनको भरतपुर स्थित ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला’म मा करोडौं लगानी भएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर–१५ मा बनाई रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा कति खर्च भयो हिसाव किताव छैन ।  त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको आएको २० विघा ६ कट्ठा जमिनमा करोडौं खर्च गरेर जे जति संरचना बनाईएको छ, त्यो सबै बालुवामा पानी जस्तै बनेको छ । तर रंगशाला निर्माणमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने भरतपुरकी मेयर रेनु दाहाललाई पोलेको छ न फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई नै बिझाएको छ । आखिर किन बन्न सकेन त क्रिकेट रंगशाला ? यो प्रश्नको जवाफ दिन कोही पनि तयार छैन । 

यो रंगशालाको लागत अनुमान थोरै थिएन । सम्झौतालाई नै आधार मान्ने हो भने  फाउण्डेशनले कम्तिमा ३ अर्ब रूपैयाँ आर्थिक स्रोत जुटाएर २ वर्षभित्र रंगशाला बनाई सक्ने उल्लेख थियो । तर यो ४ बर्षको बीचमा ६० करोड भन्दा बढी खर्च भईसकेको यो रंगशालाले नेपालका ठूला आयोजना कै दुर्गती भोगेको छ । अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय भनिएको रंगशाला अलपत्र पारेर फाउण्डेशनले सबै अपजस भरतपुर महानगरपालिकाको थाप्लोमा थोपरेको छ । चुपचाप एउटा अमुर्त संस्थालाई, राज्यको स्वामित्वमा रहेको जमिन सुम्पेर, अरवौंको पुर्वाधार बनाउने जिम्मा दिने राज्य अहिले पनि रमिते मात्रै बनेको छ । निरंगशाला निर्माणस्थल सुनसान छ । जहाँ कैयौं नेपालीको रगत–पसिना मिसिएको छ, तर जवाफ दिने कुनै निकाय छैन ।

चार वर्षअघि भव्य समारोह र ठूलै तामझाममा साथ निमार्ण सुरु भएको चितवनको भरतपुर स्थित गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला.... । घोषणा र योजना अनुसार यो रंगशाला उहिल्यै सन्चालनमा आउनुपर्ने थियो । तर करोडौं रुपैंया खर्च भईसकेको यो क्रिकेट मैदान निर्माणको काम करिब डेढ वर्षयता ठप्प छ । रंगशाला निर्माण परियोजना सुरु गरेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिलेसम्मको आम्दानी र खर्चको पारदर्शी विवरण सार्वजनीक गरेको छैन र आर्थिक स्रोत जुटाउन नसकेपछि भन्दै २०७८ साउनबाट रंगशाला निमार्णको काम रोकेको छ ।

त्यसपछि काम अघि बढ्नु त परको कुरा– करोडौंको लागतमा जसोतसो बनेका संरचना समेत भत्किदै र जिर्ण बन्दै गएका छन् । रंगशाला निर्माणको समयमा देखिएको उत्साह अहिले निराशामा बदलिएको छ । रंगशालामा प्याराफिटका लागि ठड्याइएका पिलर खिया र धुलोका कारण काम नलाग्ने भएका छन् । कैयौं मनकारी मनहरुले गाँस काटेर चन्दा जुटाएर बनाईएको संरचना पनि स्याल लुक्ने झाडीमा परिणत भएको छ । भार थेप्न नसकेर डन्डिहरु ढल्न थालेका छन् । रंगशाला कुरुप र उराठलाग्दो बन्दै गएको छ ।

यो अवस्थामा लथालिङग् छाडीएको रंगशालाको अभिभाकत्व अब कसले लिने त ? अब यो रंगशाला बन्ने कि नबन्ने ? यस्ता कैयौं प्रश्नदेखि स्वयं भरतपुर महानगरपालीका भागी रहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले यो विषयमा प्रष्ट जवाफ दिन आवाश्यक नै ठानेको छैन ।

२०७५ साल माघ १६ गते निर्माण घोषणा भएको यो रंगशालाको दुरावस्थाले, सबैभन्दा बढी निर्माणमा कैयौं दिन भोक–भोकै श्रम दान गरेका स्थानीयलाई पिडा हुन्छ ।  जो पाइप बोक्नदेखि झार सफा गर्ने तथा गिटी बालुवा बोकेर सुन्दर रंगशाला बनाउने सपनामा वहकिएका थिए । त्यही रंगशाला अहिले दिनानुदिन कुरुप बन्दै गएको छ । 

२०७५ माघ १६ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको त्रिभुवन विश्वविद्यालय मातहतको २० बिघा ६ कठ्ठा जमिन क्रिकेट रंगशाला निर्माणका लागि दिईएको थियो । तर भरतपुर महानगरले धुर्मुस सुन्तली फाउण्डेशनलाई दिएको यो जग्गा अहिले यस्तो खण्डहर संरचना बनेर रोकीएको छ । फाउण्डेशन आर्थिक अभाव देखाएर ३५ प्रतिशत काम सकिएपछि यो आयोजनाबाट हात झिकिसकेको छ । जवकी, यो क्रिकेट मैदानको भित्रि संरचना तर्फ करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । स्ट्यान्ड ‘ए’ र ‘बी’ मा प्याराफिटको समेत काम सुरु भएको छ । स्ट्यान्ड ‘ए’ र ‘बी’ मा जग हाल्ने काम सम्पन्न भई दुई सय ८३ वटा पिल्लर उठाईएको छ । तिस हजार दर्शक क्षमता रहने यो रंगशालामा तीन हजार दर्शक अट्ने प्याराफिट निर्माण भइसकेको छ । रंगशाला निर्माणमा हालसम्म ५० करोड २० लाख ७९ हजार ७४६ रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेशनले अमुर्त विवरण दिईरहेको छ । जसको पारदर्शीता माथि कैयौं प्रश्न उठेका छन् ।

करोडौं रुपैंया खर्च भएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बल्ल आर्थिक स्रोत जुटाउन नसकेको भन्दै हात झिक्यो । फाउण्डेशनले रंगशालाको स्वामित्व लिन भरतपुर महानगरपालिकालाई गत वर्षको पौषमा पत्राचार गरेपछि यो रंगशाला अलपत्र अवस्थामा छ । फाउण्डेशनले आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्मको आर्थिक रिपोर्ट, साउनदेखि मंसिरसम्मको खर्च एवं भौतिक प्रगति सहित मौज्दात विवरण २०७८ साल पुष २ गते महानगरलाई बुझाएको दावी गरेको छ । तर धुर्मुस सुन्तली फाउण्डेशनका कोहि पनि यो विषयमा बोल्न तयार छैनन् । 

महानगरले फाउण्डेशनले बुझाएको अडिट रिपोर्ट ठिक भए नभएको जाँच गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइ.क्यान.मा पठाएको र भौतिक प्रगतिको गुणस्तर जाँचका लागि सघन शहरी विकास कार्यालय भरतपुरलाई पत्र पठाएको जनाएको छ । जसअनुसार, आइ.क्यान.ले रंगशालाको सम्पूर्ण आर्थिक अवस्थाको रिपोर्ट तयार गर्न जी प्रकाश एण्ड एशोसिएटलाई छान्यो र उक्त कम्पनीले २०७८ माघ २८ गते अडिट सकेर महानगरलाई रिपोर्ट बुझायो । तर महानगरले अहिलेसम्म उक्त रिपोर्ट सार्वजनिक गरेको छैन । अहिले धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला बनाउंदा लागेको भनिरहेको १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने बिषय मुख्इ विवादमा छ । सरकारले अथवा महानगरले उक्त बक्यौता चुक्ता गरेमा आफुहरु बाँकी काम पुरा गर्न तयार रहेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशन पन्छिरहेको छ । तर स्रोतको अभावमा पछि हटेको दावी गर्ने फाउण्डेशनले बालबालीकाले खाजा खर्च र बृद्धबृद्धाले सामाजीक सुरक्षा भत्ता काटेर जम्मा गरिदिएको रकमको पारदर्शी विवरण दिन नसकेको स्थानीय पहल समितिका संयोजक शिशिर सापकोटा बताउंछन् । 

भरतपुर महानगरपालिका अहिले फाउण्डेशनले नै उक्त बाँकी ऋृण तिर्नुपर्ने अडानमा छ । फाउण्डेशनले आम्दानी र खर्चको पारदर्शी विवरण वाहिर नल्याएको अवस्थामा महानगर अथवा नेपाल सरकारले झण्डै १९ करोड रुपैंया सजिलै तिर्ने आधार पनि छैन । केही समय अघि महानगर प्रमुख रेनु दाहालले फाउण्डेशनले नसके महानगरले काम अघि बढाउने बताएपनि अहिले बाँकी ऋण तिर्न नसक्ने जनाउ दिएकी छिन् । तर यो विषयमा भरतपुर महानगर पनि प्रष्ट बोल्न तयार छैन । 

अलपत्र रंगशालाको बाँकी ऋृण तिर्नका लागि महानगरले केन्द्र तथा प्रदेश सरकारसँग हारगुहार मागिरहेको छ, किनकी बाँकी ऋण चुक्ता नहुंदा रंगशालाका नाममा भएको ५० करोड भन्दा बढी लगानी बालुवामा पानी बन्न सक्छ । त्यसैले पनि महानगर दोहोरो दवावमा छ । तर यो रंगशाला सिलान्यासका बेला पनि मेयर नै रहेकी दाहालले तोकिएकै समयमा रंगशाला निर्माण हुने दावी सहित भारत र पाकिस्तानबीच पहिलो मैत्रिपूर्ण खेल खेलाउने घोषणा गरेकी थिईन् । तर अहिले भारत र पास्कितानले खेल्ने कुरा त परै जाओस् रंगशाला बन्ने नबन्ने नै अन्यौल छ । कसले कति लगानी ग¥यो, दान ग¥यो कुनै हिसावकिताव छैन ।  करोडौं रुपैंयाको बेहिसाव खर्च गर्ने धुर्मुस सुन्तली फाउण्डेशन पनि खर्च वितरण पेश गर्न तयार छैन । यसले एउटा स्वाभाविक आशंका पैदा गरेको छ । रंगशाला निर्माणमा खास कति खर्च भयो ? कसले कति चन्दा दिए ? यज्ञ–महायज्ञ लगाएर कति उठाईयो ? विश्वका विभिन्न मुलुकमा रहेका मनकारी नेपालीले कुन माध्यमबाट कति पैसा दिए ? स्थानीयको श्रम र पसिनाको मुल्य कति थियो ? कुनै प्रश्नको चित्तबुझ्दो जवाफ नदिई– संघीय राजधानी काठमाडौमा विन्दाश अनि चुपचाप बसिरहेका फाउन्डेशनका धुर्मुस र सुन्तलीहरु मत्र ऋणको भारी देखाएर पन्छि रहेका छन् ।

बजारभरी ऋणः करोडौंको हिसाव छैन

भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशालामा धेरैको रगत, पसिना र सपना जोडीएको छ । त्यसैले चितवन पुग्ने जो कोहिको एउटै प्रश्न रहन्छ, भरतपुर महानगरपालिका वडा नं. १५ मा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला कस्तो भयो ? त्यसमाथि यो रंगशाला कलाकार धुर्मुस र सुन्तलीको अगुवाईमा निमार्ण सुरु भएको थियो, त्यसैले पनि यसमा धेरैले होस्टेमा हैंसे गरेका छन् । तर क्रिकेट मैदानमा बनाइएको भ्यूटावरमा उक्लिएर हेर्दा हरेक दाताका आँखा रसाउँछ । अनि साझा प्रश्न उठ्छ– ‘अब कहिले बन्छ रंगशाला ?’

यो रंगशालाको भित्री मैदानमा रोपीएको दूबो समेत मर्न थालेको छ । कामदारले यहाँ बस्न बनाएको संरचना छाडी सकेका छन् । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको यो जमिन सुरु कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भएपनि अहिले जमिनको स्वामित्व नै कसको भन्ने विवाद चर्किन थालेको छ । किनकी २० बिघा ६ कठ्ठा जग्गामा बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला खण्डहर बनेको छ । यसको निमार्णमा जुटेका सबैको उत्साह मरेको छ । स्वतस्फूर्त रूपमा सहयोग गर्नेहरुले शंका गर्न थालेका छन् । २०७७ साल माघ १९ गते रंगशाला परिसरमा महायज्ञ लगाउँदा खुला दिलले सहयोग गरेका धार्मिक मनहरु धुर्मुस–सुन्तली फाउण्डेशनसंग जवाफ मागिरहेका छन् । झण्डै दुई बर्ष चितवनको भव्य होटलमा बसेर निरन्तर रंगशाला निमार्णमा खटिएका धुर्मुश सुन्तलीहरु प्ैसा सकिएपछि २०७८ साल साउन २२ यता रंगशालामा देखिएका छैनन् ।

भरतपुर महानगरपालिकाले गरेको अडिटलाई आधार मान्ने हो भने–  विभिन्न संघ–संस्था तथा व्यक्तिसँग लिएको १ करोड ८४ लाख ९७ हजार ऋण कसले तिर्ने टुंगो छैन । धुर्मुश सुन्तली फाउण्डेशनका अगुवाहरु– चितवनका नाम चलेका हार्डवयर तथा अन्य पसलमा निर्माण सामग्री ल्याएबापत तिर्नुपर्ने १० करोड भन्दा बढी बक्यौता तिर्न नसक्ने जवाफ दिएर हिंडेका छन् । जवकी फाउण्डेशनले यही रंगशाला निमार्णका लागि २०७६ साल माघ १९ देखि २७ गते सम्म लगाएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम बोल–कबोल भएको थियो । यसको खास हिसाव किताव कतै छैन । तर फाउण्डेशनले ९ करोड ४१ लाख ५८ हजार ३६७ मात्र संकलन भएको दावी गरेर विवरण बुझाएको छ ।

अराजक खर्च विवरण

रंगशाला निमार्ण गर्ने दायीत्व सरकारको थियो । तर सरकारले अथवा नेपाल क्रिकेट एशोसियसनले त्रिभुवन विश्व विद्यालयको जमिनमा विना बिस्तृत अध्यन– सबै आर्थिक दायित्व एउटा अमुक फाउण्डेशनलाई सुम्पेर जसरि काम गर्न दियो अहिले त्यसैको नतिजा यहाँ देखिएको हो । जसमा नेपाल सरकार तथा देश–विदेशमा रहेका व्यक्ति, संघ–संस्था र निकायको ठूलो लगानी बगिसकेको छ । अब यो आर्थिक रुपमा अपारदर्शी करोडौं रुपैंया लगानी भईसकेको र करोडौं रुपैंयाको खर्च पारदर्शीता माथि प्रश्न उठेको रंगशालाको काम कसले पुरा गर्ने ? भरतपुर महानगरपालिकाले यसको जवाफ धुमुर्श सुन्तली फाउण्डेशनसँगै माग्नुपर्छ । किनकी भरतपुर महानगरको आर्थिक प्रतिवेदनमा रंगशाला निर्माणमा ५७ करोड खर्च भएको देखिन्छ भने भवन निर्माण आयोजनाको प्रतिवेदनमा ६३ करोडको भौतिक काम भएको उल्लेख छ । अर्थात दुई निकायको प्रतिवेदन मै ६ करोड रुपैंया तलमाथि परेको छ ।

यो अराजक खर्च विवरण सहितको रंगशालाको स्वामित्व धुर्मुस–सुन्तली फाउण्डेशनले महानगरलाई के आधारमा बुझायो त ? जवाफ चाहिन्छ ।

होडिङ बोर्डहरू खुइलिई सकेका छन् । कम्पाउण्ड जीर्ण बनेको छ । क्रिकेट मैदान झाडीमा परिणत भएको छ । प्याराफिटका लागि ठडाईएका पिल्लरका रडहरू खिइन थालेका छन् । लाखौंको निर्माण सामग्री निर्माणस्थलमा असरल्ल छन् । रंगशालाको हालसम्म निर्मित संरचना जिम्मा लिन कोहि पनि तयार छैन । बेहिसाव तयार पारिएका प्राविधिक र वित्तीय मूल्यांकनका फाईलहरु ल्ुकाईएका छन् । चार बर्षसम्म आँखा चिम्म गरेर बसेको राज्य माथि स्वामित्व लिन, बजारको बक्यौता तिर्न र बाँकी काम पुरा गर्न दवाव पर्न थालेको छ । यो सुरुमा राज्यले राज्यको लक्ष्मण रेखा, अनि कलाकारले कलाकारको लक्ष्मण रेखा बिर्सिंदा निम्तेको समस्या हो । यो रंगशालाका लागि बृद्ध–बृद्धाले भत्ता काटेर हालेका छन् । बालबालीकाको खाजा खर्च परेको छ । श्रम बजारमा रहेका नेपालीको रगत पसिना मिसिएको छ, त्यसैले पाई पाई हिसाव पारदर्शी बन्नुपर्छ ।

भिडियो रिपोर्टका लागि...

https://youtu.be/44M_AOTfQWw




Advertisement

सम्बन्धित खबर