Thursday Sep 10, 2026


गठबन्धनमा संकटः उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित्

Image
२६ माघ २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौ । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो । 

तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘आज बिहीबार संयन्त्रको बैठक बस्ने भनिएको हो । तर अहिलेसम्म कुनै निश्चित भैसकेको छैन । बस्न पनि सक्छ नबस्न पनि सक्छ, त्यसैले अहिलेसम्म समय पनि तोकिएको छैन’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले वागमती रफ्तारलाई बताए । 

नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् । 

अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । राष्ट्रपतिका सन्दर्भमा एमाले र माओवादीका फरक फरक विचारले गठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालिसकेको छ । 

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् । यही विवाद बढ्दै गएपछि ओली प्रचण्ड वान टु वान पटक पटक बालकोट र बालुवाटारमा भेटवार्ता भए पनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन । पुस १० गते शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेले लिने सहमति भएको एमाले नेताहरूको दाबी रहँदै आएको छ । त्यस्तै सभामुख र प्रधानमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरूले बताए पनि माओवादी शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपतिमा एमाले बाहेकको उम्मेदवारको पक्षमा छ ।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बालुवाटार–बालकोट र बालकोट बालुवाटार म्याराथन गरिरहेका छन् । 

पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि अध्यक्ष ओलीले प्रचण्डलाई १७ पटक भेटिसकेका छन् । 

एक पटक त खुमलटार नै पुगेका छन् भने चारपटक आफ्नै निवास बालकोटमै छलफल गरेका छन् । बितेको ४५ दिनमा अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच १७ पटक भेटवार्ता भैसकेको छ । तर सत्ता गठबन्धन अर्थात उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसाउने र ठोस निर्णय लिने पहल भएको छैन । 

स्रोत भन्छ, ‘केपी शर्मा ओली पटक पटक प्रधानमन्त्रीलाई आफ्नै समस्या लिएर भेट्ने गरेका छन् तर सरकारलाई सहयोग गर्ने, सरकारको कामकाज कसरी अगाडि बढाउने बारेमा एक दिन पनि छलफल भएको छैन ।’ सरकारलाई सहयोग र सहजीकरण गर्न गठन भएको उच्च स्तरीय संयन्त्रको बैठक लामो सयदेखि बस्न सकेको छैन ।

Advertisement

सम्बन्धित खबर