Thursday Sep 10, 2026


ग्याँस सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

Image
४ फागुन २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारिक स्रोतले बतायो । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक संजालमा लेखेका छन् ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

यसैबीच खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । उनले  भनिन्, ‘माननीय ज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । बन्द कोठामा भएकोले धुवाँ फोक्सोमा गएको छ । यो रिस्क फ्याक्टर हो ।’

आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् । ‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।

हेर्नुहोस् अस्पतालको विज्ञप्ति–

Advertisement

सम्बन्धित खबर