Friday Jan 09, 2026


सबै मधेसी दलको ‘टार्गेटमा’ उपेन्द्र यादव : वारामा कसले मार्ला बाजी ?

Image
२५ चैत २०७९, शनिवार
Avatar
AIuthor 5

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव । यादव बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन् ।


अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ ।


नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे । ‘उहाँले जितेर के गर्नुहुन्छ ? उहाँले जितेपछि फूलमाला र अबिर लगाउनेबाहेक के गर्नुहुन्छ ? मन्त्री खानुहोला । त्योभन्दा बढी के गर्नुहुन्छ ? ओलीले भने ।


कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछ ।’


जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताए ।



आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए ।


एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् ।


बिहीबार कलैया पुगेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई यादवको आवश्यकता रहेको दाबी गरे । विभिन्न पार्टीका शीर्ष नेताले यादवको चर्को विरोध गरिरहेकै बेला ं पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए ।


कसले मार्ला बाजी ?

१० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित ‘हरुवा’ नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।


बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ४ मंसिरको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसँग सप्तरी २ मा पराजित भएका थिए । डा. राउतसँग झन्डै १८ हजारभन्दा बढी मतान्तरले पराजित यादवको प्रतिस्पर्धा अर्का हरुवा नेता शिवचन्द्र कुशवाहासँग हुँदै छ ।


४ मंसिरको आमनिर्वाचनमा बारा २ मा रामसहायसँग ३ सय ५४ मतले पराजित कुशवाहा यो निर्वाचनमा जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । यसअघि कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए । त्यतिबेला कुशवाहा तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए । कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए भने रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए ।


माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाको समर्थन गत निर्वाचनमा कुशवाहालाई रहेको थियो । यस्तै, रामसहायलाई एमालेले समर्थन गरेको थियो ।


तर, अहिले गठबन्धन बदलिएको छ । १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ । कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको छैन । यद्यपि, उनी समर्थन जुटाउने प्रयास भने जारी नै राखेका छन् । विभिन्न दलका असन्तुष्ट नेताको मत तान्ने प्रयासमा कुशावाहा रहेका छन् । जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पूरै मत लिएर संसद्मा प्रवेश गर्ने रणनीतिमा छन् । रामकिशोरले गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए ।


यस्तै, बारामा उम्मेदवारी दर्ता गरेका अर्का हरुवा उम्मेदवार हुन् रमेश खरेल र अधिवक्ता अरुण ज्ञवाली । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट र ज्ञवाली आमजनता पार्टी (आजपा)बाट उम्मेदवारी दिई प्रतिस्पर्धामा छन् ।


नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल गत साता मात्रै रास्वपामा प्रवेश गरेका हुन् । काठमाडौं १ मा गत निर्वाचनमा पराजित भएका खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो । काठमाडौं १ मा उनी पाँचांै नम्बरमा सीमित हुन पुगेका थिए ।


४ मंसिरको निर्वाचनमा बारा २ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए । ७ हजार ६ सय ९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन् । कुशवाहा, ज्ञवाली बारा २ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन् । बारा २ का मतदाताले स्थानीय उम्मेदवारलाई मतदान गर्ने बताउँदै गर्दा ‘टुरिस्ट’ उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । यहाँ जातीय नारा पनि जोडतोडले उठेको छ ।


एमालेबाट पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन् । निजगढ निवासी पौडेल पूर्वमन्त्री एवं पूर्व सांसद हुन् । एमाले पोलिटब्युरो सदस्य रहेका पौडेल २०७४, २०७९ को निर्वाचनमा उम्मेदवार हुन खोजे पनि पार्टीले टिकट दिएन ।


बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन् । त्यस्तै, कोल्हवी नगरपालिका–८ पनि बारा २ मै पर्छ । गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो । कांग्रेसले महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका थिए ।


समानुपातिकतर्फ बारा २ मा ४ मंसिरमा जसपाले १३ हजार २ सय ४२, कांग्रेसले ११ हजार १ सय ७९, एमालेले ९ हजार १ सय १३, जनमतले ८ हजार ८ सय ४६, लोसपाले ४ हजार २ सय ३५, नागरिक उन्मुक्तिले ३ हजार ७ सय ९४, माओवादीले ३ हजार २ सय ६५ मत ल्याएका थिए ।

Advertisement

सम्बन्धित खबर