काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।
गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । मंसिर, पुस र माघ महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो । पोहोर परार पुस-माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।
शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदलयात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् । छाता तथा रेनकोट नभएका कारण उनीहरु रुझ्दै गन्तव्यतर्फ गएका छन् । ग्रामीण क्षेत्रमा खेती लगाउने तयारी गरेका किसानलाई पानी परेपछि जमिन खनजोत गर्न सहज हुनेछ ।
पोखरामा हिउँदे वर्षा भएकाे छ । गएकाे फागुन ११ गते बिहीवार र आज आइतवार हिउँदे वर्षासहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहत मिलेको छ ।
पोखरा महानगरपालिका ७ मासबार लगायत क्षेत्रमा आइतवार दिउँसो वर्षासँगै असिना परेको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी बताउनुभयाे । लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिले पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयाे ।
लामाे समयदेखि पानी नपर्दा सुक्खापन बढेपछि किसान चिन्तित बनेका थिए । हिउँदे वर्षासँगै बाली सप्रिने आशा पलाएकाे किसानले बताएका छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay