Saturday Jun 06, 2026


नेपाली क्रिकेटको विश्वकप यात्राः राष्ट्रिय टोलीले पपुवा न्यु गिनीसँग र यू१९ टोलीले हङकङसँग खेल्दै

Image
१५ फागुन २०७९, सोमवार
Avatar
खेलकूद ब्युरो

दुबई– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल लिग–२ मा लगातार पाँचौं जित निकाल्ने सोचका साथ मैदान उत्रनेछ ।


नेपाल रोहित पौडेल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रनेछन् । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ ।

शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।


शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा पाँच खेल जित्नुपर्ने हुन्छ । यता पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । पपुवा न्युगिनीको लागि यो प्लेअफ अघि राम्रो तयारी हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने हो । तर त्यो खेल्न योग्य संरचना नभएपछि युएईमा सारिएको हो ।


नेपालले यसै साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सबै चार खेल जितेको थियो । नेपालले अन्तिम खेल स्कटल्यान्डविरुद्धबाट टोलीमा दुई परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि विदेश भ्रमणमा रोक हुँदा टोलीमा छैनन् ।


सन्दीप टोलीमा नहुँदा नेपालले एक स्पिनरलाई मौका दिने सम्भावना छ । टोलीमा स्पिनरको रुपमा मौसम ढकाल छन् । लेग स्पिनर मौसम ढकालले पपुवा न्युगिनीविरुद्ध नेपाली क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ ।


घरेलु मैदानमा फिट नभएका आरिफ शेख टोलीमा फर्किएका छन् । नेपालका भरपर्दा ब्याटर आरिफ टोलीमा फर्किदा सन्दीप जोरा बेन्चमा बस्ने देखिन्छ । आरिफले तल्लोक्रममा ब्याटिङ गर्नेछन् । आरिफ तेस्रो तीव्र गतिका बलिङ विकल्प हुनेछन् । नेपालले आजको खेलमा आरिफ र मौसमलाई मैदान उतार्नेछ । टोलीमा अन्य खेलाडी परिवर्तनको सम्भावना कम देखिन्छ ।


नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । यी दुबै ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । पहिलो खेलमा नामिबियालाई हराउन कुशल भुर्तेल पहिलो खेलमा १ सय १५ र आसिफ दोस्रो खेलमा ८१ र बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । यी दुई ओपनरबाट कम्तिमा नेपाल पावर प्लेमा विकेट गुमाउन चाहँदैन।


तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । कुशल र रोहितको लय उच्च छ । यी दुई युवा खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा स्कटल्यान्डलाई हराउन रोहितले ९५ रनको एक यादगार इनिङ खेलेका थिए । कुशल मल्लले दुई अर्धशतक हानेका थिए ।


आरिफ शेख छैटौं र दीपेन्द्रसिंह ऐरी सातौं नम्बरमा खेल्नेछन् । दीपेन्द्रको भूमिका टोलीमा फिनिसरको रुपमा छ । करण केसी र सोमपाल कामी नेपालको प्रमुख तीव्र गतिका बलर हुन् । यी दुई खेलाडीबाट नेपाल तल्लोक्रममा राम्रो प्रदर्शन चाहन्छ । नेपालकोा ब्याटिङमा गहिराई समेत हुनेछ । स्पिनरमा मौसम र ललित नारायण राजवंशी हुनेछन् । कुशल मल्ल र दीपेन्द्र पार्टटाइम स्पिनर हुनेछन् ।


नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी र मौसम ढकाल ।

यस्तै यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।

हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।


पहिलो खेलमा कुवेतमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् । रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।


Advertisement

सम्बन्धित खबर