दुबई– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११: ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।
नेपाल बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका कुशल मल्लले ६० रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल आजको खेलमा राम्रो ब्याटिङ चाहन्छ ।
ओपनर कुशल भुर्तेल, आसिफ शेख र ज्ञानेन्द्र मल्लले जिम्मेवारीको साथ राम्रो सुरुवात दिलाउन आवश्यक देखिन्छ । कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ । बलिङमा नेपालले एक खेलाडी परिवर्तन गर्नसक्छ ।
गुलशन झाको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई मौका दिनसक्छ । गुलशनले युएईविरुद्ध २ ओभरमा १५ रन खर्चिएका थिए । स्पिनर सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ । पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर खेल खेल्ने पक्का भएको छ । विना दबाब पपुवा न्युगिनी मैदान उत्रनेछ ।
हार वा जितले पपुवा न्युगिनीलाई कुनै असर पर्दैन । बरु नेपाललाई घातक बन्नसक्छ । युएईलाई पहिलो खेलमा पपुवा न्युगिनीले १ सय ३१ रनले हराएको थियो । टोनी उरा, असाद भाला र सेसे बाउ प्रमुख ब्याटर हुन् ।
चाल्र्स अमिनी भने टोलीका कारण छैनन् । युएई हराउन तीव्र गतिका बलर चाद सोफरले सानदार बलिङ गर्दै पाँच विकेट लिएका थिए । सोफर र नर्मन भानुआदेखि नेपाल सचेत हुनुपर्छ।
हेड टु हेड :
नेपाल र पपुवा न्युगिनीबीच हालसम्म ७ ओडिआई खेल खेलेको छ । नेपाल ५ र पपुवा न्युगिनी २ खेलमा विजयी भएका छन् । लिग २ मा नेपालले तीनै खेलमा पपुवा न्युगिनीलाई हराएको छ । गतवर्ष घरेलु मैदानमा नेपालले दुवै खेल हारेको थियो । २०२१ मा ओमान दुई खेलको सिरिज नेपालले क्लिनस्विप गरेको थियो ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी.
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay