काठमाडौं ( नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देखि घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनी र युएईसँग खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।
नेपालले युएई भ्रमणमा टोलीमा रहेका मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा टोलीको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा अन्त्य गर्नेछ ।
नेपालले अव बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay