काठमाडौं।प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस खेल्दैछन्।यो खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
स्वेदशमा फुटबल खेलेर बाच्न सक्ने स्थिति नदेखेपछि पछिल्लो ६ महिना यता राष्ट्रिय टिममा समावेशसहित ४० भन्दा बढी खेलाडी विदेसिएका छन् । यसबारे कप्तान किरण चेम्जोङले सँगै ड्रेसिङ रुम सेयर गरेका धेरै टिम मेट बाहिरिएपनि वास्तविकता स्वीकार गरेर प्रदर्शनतर्फ ध्यान दिनुपर्ने बताए।
मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले आफूले उत्कृष्ट खेलाडी छनोट गरेको बताएका छन् । अहिलेसम्म श्रम स्वीकृति नपाइसकेका भिन्चेन्सोको नेपाली टिमको प्रशिक्षकका रुपमा थ्री नेसन्स पहिलो प्रतियोगिता हो । लाओस र नेपाल सन् २०१६ पछि पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।
सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टीमा पराजित गरेको थियो । जसमा कप्तान किरण चेम्जोङ नायक सावित भएका थिए । लाओस टिमका अधिकांश खेलाडी २२ वर्ष मुनिका छन् । लाओसका प्रशिक्षक मिचेल दोस्रो पटक नेपाल आएका हुन् । सन् २०१२ मा नेपालमा भएको एएफसी च्यालेन्ज कपमा उनले फिलिपिन्सको नेतृत्व गरेका थिए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay