Saturday Sep 12, 2026


राष्ट्रपति पौडेल आज शीतल निवास सर्दै: राष्ट्रपति भण्डारीको बिदाइ आज

Image
२९ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं।गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज(सोमबार) शीतल निवास छिर्दै छन् ।


गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।


नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ, त्यसलगत्तै राष्ट्रपतिज्यूले पदभार ग्रहण गर्नु हुनेछ,’ कार्कीले भने ।


संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था उल्लेख छ । तर, हाल प्रधानन्यायाधीश रिक्त रहेका कारण कामु प्रधानन्यायाधीशले नै शपथ गराउनेछन् ।


संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ,’ भनिएको छ ।


पौडेल राष्ट्रपति कार्यालय छिर्दै गर्दा सोमबार नै २०७४ मा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । भण्डारीको ‘राष्ट्रपति’ कार्यकाल आइतबारबाट नै सकिएको हो । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् । राष्ट्रपति कार्यालयले एकै समयमा नव निर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति भाण्डारीको बिदाइ गर्नेगरी तयारी गरेको छ ।


देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।


यस्तै, तेस्रोपटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन भने ३ चैतसम्म पदमा कायम रहनेछन् भने ३ चैतमा नै देशले नयाँ उपराष्ट्रपति पाउनेछ ।

राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकि थिईन् ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको उहाँका प्रेस विज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए ।


भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।


त्यस अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिईन् भने शीर्ष नेताहरूले उहाँको कार्यकाल सफलतापूर्वक पूरा गरेको बधाई दिएका थिए ।

Advertisement

सम्बन्धित खबर