Monday Nov 09, 2026


गोविन्द बन्दी नपर्दा प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

Image
१५ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौ । फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयले मन्त्री पौड्यालको जेनेभा भ्रमण सम्बन्धी प्रस्ताव लगेको थियो। त्यसलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।


मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘२०७९ फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औं सत्रमा माननीय परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने।’


मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दा प्रधानमन्त्री दाहालले ‘को–को जाँदै छन्’ भनेर सोधेका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार त्यससँगै प्रधानमन्त्री दाहालले ‘गोविन्द बन्दी’लाई पनि लग्नु भनेका थिए।


गोविन्द बन्दी अर्थात गोविन्दप्रसाद शर्मा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुन्। उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा ६ महीनाका लागि मन्त्री भएका थिए।


प्रधानमन्त्री दाहालले गोविन्द बन्दीलाई लग्नु भनेपछि परराष्ट्रमन्त्री पौड्यालले सहमति जनाएकी थिइन्। ति मन्त्रीका अनुसार पौड्यालले भनेकी थिइन्, “प्रधानमन्त्रीजीले भनेपछि भइहाल्छ नि।”


त्यसपछि परराष्ट्र मन्त्रालय भ्रमण टोली तयार गरेको थियो। आइतबार साँझ मन्त्री पौड्यालको नेतृत्वमा नेपाली टोली जेनेभातिर प्रस्थान गर्ने तय भएको थियो। तर, जेनेभा जाने नेपाली टोलीमा प्रधानमन्त्री दाहालले भनेका गोविन्द बन्दी परेनन्।


पूर्वमन्त्री गोविन्द बन्दी जेनेभा जाने टोलीमा नपरेको खबर पुगेपछि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्यालकै भ्रमण रोकेको जनाइएको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आइतबार साँझ मात्रै गोविन्द बन्दी टोली नपरेको प्रधानमन्त्री दाहालसमक्ष खबर पुगेको थियो। प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, “गोविन्द बन्दी टोली नपरेको थाहा पाएपछि प्रधानमन्त्रीजीले मुख्यसचिव मार्फत परराष्ट्रमन्त्रीजीलाई भ्रमण रोक्नुभन्नु भएको हो।”


परराष्ट्रमन्त्री पौड्यालले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानिनन्। मन्त्री पौड्यालले मानवअधिकार परिषद्को सत्रमा नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामबारे सुनाउने कार्यक्रम रहेको थियो।


आइतबार दिउँसो मन्त्री पौड्यालले पत्रकार सम्मेलन गरी परिषद्को ५२औं सत्रमा राख्ने विषयबारे जानकारी दिएकी थिइन्। उनले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे अवगत गराउने बताएकी थिइन्।


Advertisement

सम्बन्धित खबर