काठमाण्डौ।नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो।
आज आइतबार सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको एक पदाधिकारीले बताए।
‘पूर्ण दाईको नेतृत्व सभापतिले पनि चाहनुभएको छ। आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो। तर, नामको विषयमा कुरा भएको हैन। पदाधिकारी वरियताको आधारमा कुरा गर्दा उहाँ नै हो,’ ती पदाधिकारीले भने, ‘आज सभापति उपसभापति र महान्त्रीको छुट्टै बैठक हुन्छ। हामी संभवतः भोली कार्यसम्पादन बसेर औपचारिक निर्णय गर्छौं।’
ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ।
बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए।
‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’ सिट संख्याका आधारमा मन्त्रालय र संख्या कांग्रेसले रोज्ने हो, गठबन्धनले भाग लगाएर दिने हैन, बैठकमा सहभागी एक नेताले भने, यसमा नेकपा माओवादी लगाएतका दलले कम्प्रमाईज गर्नुपर्ने हुन्छ, कांग्रेस कम्प्रमाईज गर्ने अवस्थामा छैन ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay