काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री लिएर सरकारमा राप्रपाको नेतृत्व गरेका थिए । त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरिसकेका छन् । कांग्रेसबाट केहीबेरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्दैछन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
यसैबीच, नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो । एमालेले राष्ट्रपतिमा पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर सहमति पालनाको लागि पहल गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay