Friday Sep 11, 2026


राष्ट्रपति उम्मेदवार टुंगो लगाउन दलहरुको निर्णायक वार्ता आज

Image
१२ फागुन २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौ । राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन्। 

विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबैजसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन्। 

राष्ट्रपति पदका लागि निर्णायक मत भएका प्रधानमन्त्री प्रचण्ड आफै सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए। त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। हिजै पुरोना गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी भए पनि समय नपुगेका कारण बस्न सकेन।  आज बिहान ८ बजे पुरानो गठबन्धनका दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड जुटेका छन्। 

हिजो साँझ सिंहदरबारमा बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान निर्णायक बैठक हुने बताएका थिए। प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेका छन्। 

राष्ट्रपति चुनाव: आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।  

मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिनुभएको छ । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको हो ।


यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश  सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन्  । यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो  ।  


आउँदो २५  गते हुने राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।


Advertisement

सम्बन्धित खबर