Thursday Sep 10, 2026


राष्ट्रपतिको उम्मेदवारबारे उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने

Image
२५ माघ २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।

गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरुको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रले सरकार सन्चालनमा आवश्यकता अनुसार सुझाव तथा मार्गनिर्देश गर्न सक्ने नेताहरु बताउँछन् ।

Advertisement

सम्बन्धित खबर