Thursday Sep 10, 2026


राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल निर्विरोध

Image
२३ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौ । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेट अर्थात १२ बजेका लागि बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकोमात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनेछिन्। उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुने भएकी हुन् ।

अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा छन् । राष्ट्रियसभाको सोमबार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने विषय समेटिएको छ।  

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले उक्त पदमा उम्मेदवार खडा नगर्ने निर्णय गरेको थियो। त्यसअघि संघीय संसद्मा रहेका विपक्षी दलहरूका नेताहरूसँगको छलफलमा उम्मेदवारी नदिने सल्लाह भएको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले प्रेस विज्ञप्तिमा जनाएका छन्। राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त छ।

Advertisement

सम्बन्धित खबर