काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी गरिसकेको छ। शुक्रबार अपराह्न ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदबनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।
यस्तै, राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन्। मतदानका लागि पुरानै मतभार कायम
निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फागुनमा मतदान गर्ने गरी निर्वाचन कार्यक्रम घोषणा गरिसकेको छ ।
आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाले जानकारी दिए । २०७४ सालमा सम्पन्न राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनसंख्या आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारलाई आधार मानेर राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।
‘२०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभएका कारण अहिले आयोगले पुरानै मतभारबाट निर्वाचन गर्ने अवस्था आएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने, ‘जनगणनाको नयाँ तथ्यांक सार्वजनिक भए नयाँ मतभारबाटै निर्वाचन गर्छौं तर त्यो सम्भावना कम छ ।’
उम्मेदवारी दर्ता १३ फागुनमा
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, सोही नम्बर नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि सोही प्रक्रियाबाट तय हुन्छ ।
तर, पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । सोही कारण आयोगले २०६८ को जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति निर्वाचनमा प्रयोग गरिएकै मतभारलाई आधार मानेर राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।
आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ को दफा ४ र ५ अनुसार निर्वाचन मिति घोषणा गरी त्यसको जानकारी नेपाल सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश व्यक्ति भने सो बन्दसूचीबाट नाम फिर्ता नलि“दासम्म राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।
आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन भने ३ चैतमा हुनेछ । राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रियाका लागि काठमाडौंमा नै मतदान हुनेछ ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । जसअनुसार मतदाता नामावली प्रकाशन १० फागुनमा हुनेछ ।
त्यस्तै, नामावलीउपरको दाबी, विरोध, उजुरीलगायत प्रक्रियाका लागि निवेदन दिन आयोगले १० र ११ फागुनको मिति तय गरेको छ ।
यसैगरी, निवेदन तथा उजुरीउपर छानबिन ११ र १२ फागुनमा हुनेछ भने अन्तिम मतदाता नामावली १२ फागुनमा प्रकाशित गरिने जनाइएको छ ।
निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण मानिने उम्मेदवारको मनोनयन दर्ता भने १३ फागुनमा हुनेछ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची आयोगले सोही दिन प्रकाशन गर्नेछ भने १४ फागुका दिनमा उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ ।
आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्नेछ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ । १६ फागुनमा नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ ।
त्यस्तै, उपराष्ट्रपति निर्वाचन ३ फागुनमा हुनेछ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरकफरक मितिमा गर्नुपर्ने उल्लेख छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेदेखि अन्य निर्वाचन कार्यक्रमका काम भने राष्ट्रपति निर्वाचनकैलाई मानिनेछ ।
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २७ फागुनमा हुनेछ भने मनोनयन दर्ता भएको उम्मेदवारको सूची सोही दिन प्रकाशित गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिन सोही दिन तोकिएको छ ।
यसैगरी, २८ फागुनमा उपराष्ट्रपतिका उम्मेदवारको मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रिय सभाका ५९ सदस्य र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल ८ सय ८४ मतदाता हुन्छन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २८ फागुनमा सकि“दै छ । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि ३ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।
देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए ।
तेस्रोपटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुनः नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay