काठमाडौ । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थालेका हुन् । पौडेलले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरेर आफुलाई समर्थन गर्न प्रस्ताव गरेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवार नेम्वाङलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई पत्र पठाएको जानकारी दिएका छन् । अधिकारीका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको चुनावमा नेम्वाङलाई सहयोग गर्न पत्र पठाएका हुन् ।
राष्ट्रपतिको लागि आउँदो २५ गते मतदान हुँदै छ । कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीसँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् ।
एमाले नेताहरूले भने पुस १० गते भएको सहमतिअनुसार नै राष्ट्रपति चुनावमा माओवादीसहित दलहरुको साथ पाउने दाबी गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ को बहुमत २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ । पौडेलको पक्षमा रहेका दलहरुको मतभार ३१ हजारभन्दा धेरै छ भने नेम्वाङको पक्षमा एमालेको १५ हजार ३ सय १२ मत मात्रै छ । यो हिसाबले राष्ट्रपतिमा पौडेलको जित निश्चितजस्तै देखिए पनि एमालेका नेताहरुले मत क्रस हुने र नेम्वाङको पक्षमा बहुमत पुग्ने दाबी गर्दै आएका छन् ।
गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–१ बाट निर्वाचित भएका हुन् । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानुन, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गरेको अनुभव छ । पौडेल र नेम्वाङ दुवै पूर्व सभामुखसमेत भईसकेका व्यक्ति हुन् ।
आठ दलबीच जे भयो त्यही नै राष्ट्रिय सहमति हो : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि आठ दलबीच भएको सहमति नै राष्ट्रिय सहमति भएको जिकिर गरेका छन्।
महेन्द्रनारायण निधिको एक सय एक औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सहमतिको सुत्रधार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताए।
‘केपी ओलीजीसँग बालुवाटारमा कुरा गर्दा तपाईँ र म राष्ट्रिय सहमतिको सुत्रधार बनौं, ठूलो दलको हैसियतमा राष्ट्रपति कांग्रेसलाई दिऊँ, तपाईँको सभामुख छन्, राष्ट्रियसभाका अध्यक्ष छँदैछन् भनेको उहाँले मान्नुभएन।’ प्रचण्डले भने, ‘त्यहाँ केही छन् त्यतापटि अहिले बढी जान चाहन्न । तै पनि आठ दलको बीचमा जे भयो त्यो राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाइ छ।’
उनले एमाले पनि अब कतै जान सक्ने अवस्था नरहेको बताए। ‘एमाले पनि अब कतै जान सक्ने स्थिति छैन। हो प्रतिपक्षमा जान सक्नुहुन्छ उहाँहरू, करिब करिब जानुभयो ।’ राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिएको भन्दै उनले अब सरकार पुनर्गठन हुने बताए।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न नसक्नेहरुसँग गठबन्धनमा रहँदा आफूले दुई महिनाभित्रै तितो अनुभव गरेको प्रचण्डको भनाइ छ। त्यसैले स्वभाविक र सहज प्राकृतिक कोर्स सुरु गरेको प्रचण्डले बताए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay