Saturday Jun 06, 2026


सुदूरपश्चिमका मुख्यमन्त्री शाह पनि संकटमाः माओवादीले विश्वासको मत नदिने

Image
२१ फागुन २०७९, आइतवार
Avatar
नेपालि खबर

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ भने नागरिक उन्मुक्ति पार्टीले ‘लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने’ प्रस्ट पारेको छ ।


माओवादी प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।


माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले ‘यथास्थितिमा विश्वासको मत दिने अवस्थामा आफूहरू नभएको’ बताए । ‘लिखित प्रतिबद्धता नभएसम्म विश्वासको मत दिन नसकिनेगरी स्पष्ट निर्णय भएको छ,’ उनले भने ।


माओवादी प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबीसमेत गरेको छ । तर, यसका लागि कांग्रेसले ‘संवादको वातावरण नबनाएको’ भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो । शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन समस्या हुने छ ।


लिखित हस्ताक्षरबिना दिन सकिँदैन स् नाउपा


यसैगरी, नागरिक उन्मुक्तिले पनि लिखित प्रतिबद्धता मागेपछि विश्वासको मत पाउन शाहलाई झनै सकस पर्ने देखिएको छ । उनलाई नेकपा एमाले वा नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएनन् भने पद नै खारेज हुन सक्छ ।


यसअघि विश्वासको मत जुटाउन नसक्दा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले महिना दिनमै कुर्सी छाड्नुपरेको थियो । एमाले अहिले प्रतिपक्षी कित्तामा छ ।


रावलपछि गत २६ माघमा मुख्यमन्त्री बनेका शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । तर, यथास्थितिमा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले ‘कुनै पनि हालतमा विश्वासको मत दिन नसक्ने’ स्पष्ट पारेका छन् ।

Advertisement

सम्बन्धित खबर