Thursday Sep 10, 2026


एमसीसी र एसपीपी कार्यान्वयनमा अमेरिकी चासोः उपसहायक विदेशमन्त्री काठमाडौमा

Image
१ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौ । अमेरिकाको उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन्। काठमाडौंमा रहँदा उनले सरकारी अधिकारी र साझेदारहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

उनले नेपाली सेनाका अधिकारीहरूसँग पनि छलफल गर्ने अमेरिकी दूतावासले जनाएको छ। संसदबाट अमेरिकी परियोजना एमसीसी पास भए पनि स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) भने विवादित बनेको थियो। विवाद उत्कर्षमा पुगेपछि सरकारले एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो। यद्यपि अमेरिकाले नेपालमा एसपीपी लागू गर्न चाहेको स्रोतको भनाइ छ। उपसहायक विदेशमन्त्री अख्तरले प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीहरूसँग एसपीपीबारे छलफल गर्ने स्रोतको भनाइ छ। 

पछिल्लो समय नेपालमा अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने कूटनीतिज्ञहरूको बाक्लै भ्रमण भइरहेको छ। ती कूटनीतिज्ञहरूको भ्रमण पनि नेपालमा चीनको प्रभाव कम गर्न र अमेरिकी एजेण्डालाई स्थापित गर्न केन्द्रित रहेको स्रोतले बताएको छ। 

दुई हप्ताअघि मात्रै अमेरिकी उप विदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपालको भ्रमण गरेकी थिइन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरूसँग सम्बाद गरेकी थिइन्। 

उप-सहायक विदेशमन्त्री अख्तरले नेपाली साझेदारहरूसँग छलफल गर्नुका साथै जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने बताइएको छ। 

Advertisement

सम्बन्धित खबर