विराटनगर । चालु आर्थिक बर्षको समिक्षा अवधीमा विराटनगर भन्सार कार्यालयको राजश्व संकलन घटेको छ । भन्सार कार्यालयले लक्ष्यअनुसार संकलन गर्न नसकेपछि राजस्व घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म विराटनगर भन्सारले १६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो निर्धारित लक्ष्यभन्दा कम हो । भन्सार कार्यालयले यो आर्थिक वर्षको साउनदेखी पुस मसान्तसम्म २८ अर्ब ४१ करोड १३ लाखभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।आर्थिक वर्ष २०७८÷७९ मा ४० अर्ब ४२ करोड ७७ लाख राजस्व संकलन भएको । विदेशबाट सामान ल्याउँदा बीचको केही महिना व्यापारी र आयातकर्ताहरुले एलसी खोल्न नपाउनु, बजारमा पैसा अभाव लगायतका कारण राजस्व संकलनमा कमि आएको भन्सार अधिकृत रामचन्द्र ढुंगानाको भनाई छ । विश्व अर्थतन्त्रमा देखिएको मन्दीले पनि सामान आउन कमी भएकाले राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।
किन सुस्तायो भन्सार ?
विशेष गरी भारततर्फ ढुवानीका लागि सडक पूर्वाधारमा देखिएको समस्या समाधान हुन नसक्दा विराटनगर नाका भएर आउने मालबहाक सवारी साधनको संख्या उल्लेख्य घटेको कारणले राजश्व लक्ष्य भेटाउन समस्या भएको हो ।
विगत केही महिना यता भन्सार मार्गबाट भन्दा अनौपचारिक मार्ग प्रयोग गरी वस्तुको तस्करी गर्ने प्रवृत्ति मौलाएका कारण त्यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेकोले लक्ष्य भेटाउन नसकेको भन्सार कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
विराटनगर भन्सारको राजश्वमा प्रत्यक्ष प्रभाव पार्ने भारतको जोगवनी नजिकैको मिरगन्ज पुल लामो समय बन्द हुँदा आयात प्रभावित भएको थियो । पुलकै कारण सुनसरीको भाण्टाबारी नाकाबाट सवारी साधन घुमाउनु पर्दा ढुवानी खर्च बढी पर्ने भएकोले व्यापारीहरुले सामान आयातका लागि अन्यत्र नाका प्रयोग गरेका थिए । त्यसबाहेक नेपाली उद्योगहरुले कच्चा पदार्थ आयात कटौती गरेको, नेपाल राष्ट्र बैंकले लामो समय विलासी वस्तुको आयात नियन्त्रण गरेका कारणले पनि भन्सार राजश्व असुलीमा प्रभाव परेको थियो ।
मंसिर महिनायता कतिपय वस्तुको आयात खुला भएको थियो भने मिरगंज पुलपनि सञ्चालनमा आएको थियो । पुस महिनायता तस्करी नियन्त्रणको प्रयत्न अघि बढेको भएपनि भन्सार राजश्वमा भने उल्लेख्य सुधार नआएको पाइएको छ ।विराटनगर भन्सारले चालु वर्षको ६ महिनामा १६ अर्ब ५३ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । कार्यालयको लक्ष्य २८ अर्ब ४० करोड रुपैयाँ निर्धारण गरिएको थियो ।प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाका अनुसार पुसमा सुरक्षाकर्मीले करिब एक करोड रुपैयाँ बराबरका तस्करीका सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो ।
भन्सारले पुसमा ५ अर्ब २३ करोड ७८ लाख राजस्व लक्ष्य राख्दा २ अर्ब ४२ करोड १० लाख मात्र संकलन गर्न सकेको छ । यो लक्ष्यको ४६ दशमलव २२ प्रतिशत हो ।चालु वर्ष ६० अर्ब राजस्व असुली गर्ने लक्ष्य राखेको विराटनगर भन्सारले कुनै पनि महिना सफल हुन सकेको छैन । भन्सारले चालु वर्षको साउनमा ३ अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड र भदौमा ४ अर्ब ७६ करोडमध्ये ३ अर्ब ९१ करोड असुली गरेको छ । त्यस्तै, असोजमा ५ अर्ब ५ करोडमा २ अर्ब ७८ करोड, कात्तिकमा ४ अर्ब ७७ करोडमा २ अर्ब ९३ करोड र मंसिरमा ४ अर्ब ९२ करोड लक्ष्यको २ अर्ब ३३ करोड मात्र असुली गरेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay