एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले फ्रान्स र जर्मनीसँग लडाकु विमान (फाइटर जेट) उपलब्ध गराउन माग गरेका छन्। रसियासँग युद्ध लडिरहेको जेलेन्सकी अहिले युरोप भ्रमणमा छन्। बेलायती अधिकारीहरुसँगको भेटपछि उनले फ्रान्स र जर्मनीसँग 'फाइटर जेट' मागेका हुन्।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग उनले सो प्रस्ताव राखेका हुन्। बिहीवार उनले युरोपियन युनियनका नेताहरुसँग भेट गर्दैछन्। सो भेटमा पनि उनले थप 'फाइटर जेट'को प्रस्ताव राख्नेछन्।
पत्रकार सम्मेलनमा माक्रोनले युक्रनेलाई फ्रान्सको समर्थन रहने बताएका थिए। स्कोल्जले भने रसियाले यो युद्ध जित्न नहुने बताएका थिए। यी दुवै नेताको युक्रेनलाई सहयोग नगरेको भनेर आलोचना हुँदै आएको थियो। जेलेन्सकीले भने माक्रोन अहिले परिवर्तन भएको र दुवै देश युक्रेनको साथमा रहेको प्रतिक्रिया दिएका छन्।
जेलेन्सकीले 'फाइटर जेट' मागे पनि दुवै देशले 'फाइटर जेट' उपलब्ध गराउने वा नगराउने भन्नेबारेमा केही बताएको छैन।
जर्मनी र अमेरिकाले युक्रेनलाई लडाकु विमान नदिने भनेर पहिलै बताइसकेको छ। यद्यपि, द्वन्द्वग्रस्त युक्रेनमा सैन्य ‘ट्याङ्क’ पठाउन भने अमेरिका र जर्मनी तयार भएका थिए। अमेरिकाले एम वान एब्रम्स ट्याङ्कहरु युक्रेन पठाउने तयारी गरेको हो। यस्तै, जर्मनीले लेपर्ड टू ट्याङ्क पठाउने भएको छ। दुवै राष्ट्रले १२ वटा भन्दा ट्याङ्कहरु पठाउनेछन्। रसियाले भने अमेरिका र जर्मनीको यो कदमलाई ‘उत्तेजना फैलाउने कार्य’ भनेको थियो।
रसियाले कुनै पनि देशले युक्रेनलाई 'फाइटर जेट' उपलब्ध गराए त्यसको प्रतिक्रिया दिने चेतावनी पहिलै दिइसकेको छ।
रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि युद्ध सुरु भएको थियो। युद्ध भएको ३५१ दिन भइसक्दा पनि शान्ति कायम हुने सम्भावना छैन। पश्चिमा राष्ट्र युद्ध अन्त्य गर्न प्रयासमा भन्दा युक्रेनलाई थप हतियार दिएर रसियाविरुद्धको अभियानमा लागेका छन्। यता युक्रेन पनि तत्काल शान्ति सम्झौता गर्ने पक्षमा देखिँदैन। रसियाले पनि आफ्नो लक्ष्य पूरा नभएसम्म सैन्य गतिविधि नरोक्ने बताइसकेको छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay