काठमाडौ । सोनाम ल्होसार २८५९ सुरु भएको छ । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ।
प्रत्येक वर्ष एक/एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन भव्य रूपमा मनाउँदै आएका छन्।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन्।
ल्होछारको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् ।
त्यसअघि सांस्कृतिक वेशभूषासहितको र्याली निकालिने ल्होछार मूल समारोह समितिका संयोजक कुमारसिं घिसिङले जानकारी दिए । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay