Saturday Apr 18, 2026


अभिनेता शाह आज छुट्दैः सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

Image
१५ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो ।


नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।


काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाई सँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।


महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गर्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको तर्क गरेका थिए । उनीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए ।

यस्तै बालयौन दुरुपयोगमा अदालत्ले दोशी ठहर गरेपछि जेल जीवन बिताई रहेका अभिनेता पल शाहले भने पूर्ण सफाइ पाएका छन् ।  शाहले उच्च अदालत पोखराको सुनुवाइबाट पूर्ण सफाइ पाएका हुन् । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार सुनुवाइबाट पूर्ण सफाइ पाएका शाहलाई उच्च अदालत पोखराको फैसला अनुसार आज थुना मुक्त हुने शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।  वरिष्ठ अधिवक्ता वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट शाहलाई बिदाइ गरिनेछ ।


नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिइसकेको छ । 

Advertisement

सम्बन्धित खबर