Saturday Apr 18, 2026


अभिनेता शाहको आज सुनुवाई : आँखामा सँधै देखिन्छ पिलपिल आँसु

Image
३ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

मनोरञ्जन व्यूरो । आज मंगलबार पल शाहविरुद्धको मुद्दामाथि  सुनुवाइ हुने भएको छ । तनहुँ जिल्ला अदालतमा मुद्दाबारे सुनुवाइ हुनेछ । यसअघि धेरै पटक पेशी तोकेर मुद्दा सुनुवाइ स्थगित हुँदैआएको थियो । कलाकार शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसलाबारेमा अध्ययन भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर  कुँवरले बताए । 

नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा अधाई वर्ष कैद सजाय तोकेको थियो । आज हुने तनहुँ अदालतको फैसलाले पनि कैदबारे सजाय तोक्न सक्ने अनुमान गरिएको छ ।


कस्ता भएका छन् पल ?

नवलपुर अदालतमा चलेको मुद्दाको फैसलाबारे प्रमाणित कपी उपलब्ध गराउन माग गरिएको शाहको पक्षमा बहस गर्दैआएका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले बताए । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यले पनि नवलपुर अदालतको फैसलाको माग गरेका छन् ।


नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते पक्राउ परेका थिए ।

अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् ।


गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण परेका शाह शुरूमा केही समय प्रहरी हिरासतमा बसेपछि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।


पछि नवलपुर जिल्ला अदालतले साढे २ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालत तनहुँमा भने मुद्दा विचाराधीन अवस्थामा छ ।


चलचित्र र म्युजिक भिडियोमा छाइरहेका ‘स्टार’ अभिनेता पल जेलमा सामान्य कैदीबन्दीसँगै बस्छन् । शुरू–शुरूमा उनलाई भेट्न दिनहुँ आफन्त, साथीभाइ र चलचित्रकर्मीको भीड लाग्ने गरेको थियो ।

पछिल्ला दिनमा भने उनलाई भेट्न जानेको संख्या केही घटेको छ । तर, केही व्यक्ति भने पलसँग नियमित भेटघाटमा छन् ।


पललाई भेट्न पुगिरहने मध्येमा पर्छन्, छायाँकार अर्जुन तिवारी । उनले पलले अभिनय गरेका एक सयभन्दा बढी म्युजिक भिडियो खिचेका छन् । 

लामो समयदेखि पलसँग निकट रहेका उनले अहिलेसम्म २०-२२ पटक कारागार पुगेर पललाई भेटेका छन् । उनी यसै साता पनि पललाई भेट्न तनहुँ पुगेका थिए ।     

भेटमा पलले प्रायः चलचित्र, म्युजिक भिडियो र साथीभाइहरूको विषयमा सोधीखोजी गर्ने गरेको अर्जुनले बताए ।

तिवारीका अनुसार पलले कपाल काटेर छोटो–छोटो बनाएका छन् । उनी न दुब्लाएका छन्, न मोटाएका । शरीर उस्तै देखिन्छ ।


‘मैले उसमा परिवर्तन त्यस्तो केही देखिनँ,’ छायाँकार अर्जुनले भने, ‘अलिकति निराशजस्तो देखिनुचाहिँ स्वाभाविक हो ।’ 


मोडल विजय पुन समेत पललाई भेट्न ८-९ पटक तनहुँ पुगेका छन् । उनले पनि पल पहिलेजस्तै रहेको र कपाल काटेका कारण लुक्सु फरक देखिएको बताए । 


‘शरीर पहिलेजस्तै हो । तर, कपाल काटनुभएका कारण डिफरेन्ट लुक्समा देखिनुहुन्छ’ विजयले भने । 


आफूलाई भेट्न पुग्नेहरूसँग पल हाँसीखुशी प्रस्तुत हुन्छन् । केही समयअघि गायक हेमन्त शर्मा पललाई भेट्न तेस्रोपटक तनहुँ कारागार पुगेका थिए । 


‘मसँग भेट्दा पहिले पनि हाँसेर कुरा गरेका थिए, पछिल्लोपटक हँसिलो नै पाएँ,’ हेमन्तले भने । उनका अनुसार पलको शारीरिक अवस्था ठीक देखिएको छ । 


हेमन्तले आफूहरूको भेटमा सामान्य कुराकानी भएको, तर उनको दैनिकीबारे भने कुराकानी नभएको बताए । 


साथीभाइ भेट्दा शुरूमा खुशी हुने पल छुट्ने बेलामा भने निराश हुने गरेका छन् ।


‘हामीहरू पुग्दा पीडा देखाउनुहुन्न । हाँसेरै प्रस्तुत हुने गर्नुभएको छ । तर, छुट्टिने बेला उहाँको आँखामा पिलपिल आँसु देखिन्छ,’ पलसँग नजिक रहेका मोडल विजय पुनले भने ।



पललाई हिरो भनेर कारागारभित्र सबैले माया गर्ने गरेको उनलाई भेटेर फर्किएकाहरू बताउँछन् । कारागारभित्र पलले केही समय शारीरिक व्यायाम गर्दा रहेछन् । 


दिउँसोको समयमा साथीहरूसँग कुराकानी, ब्याटमिन्टन, कारमबोर्ड लगायतका खेलमा उनको समय बित्ने गरेको छ ।


कारागारभित्र केही समय टेलिभिजन समेत हेर्न पाइने रहेछ । टेलिभिजनमा पलले उपलब्ध भएसम्म फिल्म र म्युजिक भिडियो हेर्ने गरेका छन् ।


टेलिभिजन हेर्दै गर्दा कहिलेकाहीँ उनैले अभिनय गरेको म्युजिक भिडियो पनि आउँछ, त्यो भिडियो हेर्दा उनी भावुक हुने गरेको कारागार स्रोतले बतायो ।


उपलब्ध भएसम्मका पत्रपत्रिका समेत पढ्ने पलले जेलभित्रै केही फिल्मको स्क्रिप्ट समेत हेरिरहेको छायाँकार अर्जुनले खुलाए ।



‘चलचित्रको स्क्रिप्ट पढ्ने, खेल खेल्ने, टीभी हेर्ने रहेछन्,’ उनले भने, ‘धेरैवटा उपन्यास पढिसकेको मसँगको भेटमा बताए । पछिल्लो समय हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ पढेर सकाएका रहेछन् ।’


कारागारभित्र सबै ठिकै रहेको उनले आफूलाई भेट्न पुग्नेहरूसँग बताउने गरेका छन् । परिवारका सदस्यले उनलाई आवश्यक कुरा लगिदिन्छन् । साथीभाइ पनि उनलाई मन पर्ने खानेकुरा र पुस्तक बोकेर पुग्ने गरेका छन् ।


‘मैले आफू जाँदा कहिलेकाहीँ पुस्तक, कहिलेकाहीँ उसलाई मनपर्ने खानेकुरा लगिदिन्छु,’ अर्जुनले भने, ‘अन्य साथीभाइमार्फत पनि पठाइरहेको हुन्छु ।’


अर्जुनले फ्रुट्स्, मःम, सुकुटी ईत्यादि खानेकुरा लगिदिने गरेको बताए । 


‘पछिल्लोपटक चाहिँ काठमाडौंबाट गुँदपाक लगिदिएको थिएँ । त्यो भन्दा अगाडि पुष्टकारी लगिदिएको थिएँ,’ उनले भने ।



आफूलाई भेट्न पुग्ने संगीतकर्मी र कलाकारहरूसँग पलले गीतसंगीतबारे सोधीखोजी गर्ने गरेका छन् । चलचित्रकर्मीहरूबाट चलचित्र क्षेत्रको बारेमा बुझ्ने गरेका छन् । 


‘कुन गीत कत्तिको चलिरहेको छ, पछिल्लो समय हिट गीत कुन भयो भनेर उसले एकदमै चासो राख्छ । कुन चलचित्र फ्लोरमा गएको छ, कुन–कुन चलचित्र राम्रो चल्यो भनेर पनि उसले सोधीखोजी गर्छ,’ छायाँकार अर्जुन भन्छन्, ‘प्रत्येक भेटमा चलचित्र र गीतसंगीतबारे चासो राखेको पाउँछु ।’


अर्जुनका अनुसार पलले आफ्ना फ्यानहरूबारे एकदमै चासो दिने गरेका छन् । साथै आफूसँगै काम गरेका प्राविधिकदेखि निर्देशकसम्मलाई सोध्छन् । आफूले काम गर्दाका प्राविधिक तथा सामान्य सहयोगीहरूका बारेमा उनले बढी सोधखोज गर्ने गरेका छन् ।


बाहिर हुँदाको व्यस्ततालाई उनले एकदमै मिस गरिरहेको अर्जुनले बताए ।



हेमन्त शर्मासँगको भेटमा पलले सोधेका रहेछन्, ‘पछिल्लो समय कलाकारहरूले, दर्शकहरूले मलाई कस्तो नजरले हेर्छन् ? उहाँहरूको माया घटेको होला हैन दाइ ?’


त्यस्तो नहोला भन्ने जवाफ दिँदै हेमन्तले सोधेका रहेछन्, ‘तिमी लाई के लाग्छ रु मनमा के छ ?’ जवाफमा पलले न्याय पाउने विश्वास देखाएको हेमन्तले बताए ।


‘न्याय पाउँछु भन्नेमा ऊ आशावादी रहेको पाएँ,’ हेमन्तले भने ।


पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।


नवलपुरबाट बलात्कारको अभियोग पुष्टि नभए पनि यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइएको छ ।


तनहुँबाट भने फैसला हुन बाँकी छ । उनको मुद्दाको अर्को पेसी माघ ३ गतेलाई तोकिएको छ ।


यस्तै मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने उच्च अदालतको आदेशमा २० लाख धरौटी तिरेर शुक्रवार रिहा भएका छन् ।

सन्दीप रिहा भएपछि पलका समर्थक पनि आशावादी भएको सामाजिक सञ्जालमा देखिन्छ । पलको मुद्दामा ३ गते नै फैसला आउन सक्ने सम्भावना छ ।

Advertisement

सम्बन्धित खबर