Saturday Apr 18, 2026


मिटरब्याज पीडित बालुवाटारतर्फ: खुला चौरमा रात कटाए

Image
१४ चैत २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं ।काठमाडौं । बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटर ब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटारतर्फ लागेका छन् ।


आइतबार काठमाडौं आइपुगेका पीडितहरुले सोमबार खुलामञ्चमा धर्ना दिन खोज्दा गेटमै रोकिएको थियो । सडक पेटीमा रात बिताएका उनीहरु आज बिहानै रत्नपार्कबाट पैदल हिँडेर बालुवाटारतर्फ अघि बढेका हुन् ।


निषेधित क्षेत्रतर्फ अगाडि बढ्न प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका छन् । मिटरब्याजीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टंगाल पुगेर मिटरब्याज पीडितलाई भेटेका छन् । उनले आफू गृहमन्त्री भएका बेला मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल गरेको भन्दै उनीहरुको आन्दोलनमा समर्थन जनाएका छन् । साथै उनले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


प्रधानमन्त्रीलाई भेटेर समस्या सुनाउन हिँडेका उनीहरुलाई बीच बाटोमै रोकिएपछि बालुवाटार नगइ सिंहदरबार जाने उनीहरुले तयारी गरेका छन् । सिंहदरबारपछि संसद भवन, बानेश्वर जाने कार्यक्रम रहेको पीडितको अगुवाले जानकारी दिएका छन् ।


सुदखोरको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेजीको माग गर्दै महोत्तरीको बर्दिबासबाट उनीहरु चैत २ गते हिँडेका थिए ।


मिटरब्याजीसँग चर्को ब्याजमा ऋण लिएका उनीहरुले रकम चुक्ता गरेको वर्षौं बितिसक्दा पनि ऋणमुक्त हुन सकेका छैनन् ।

खुलामञ्चमा प्रदर्शन

११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडितले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।


११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडितले खुलामञ्च गेटअगाडि प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नका लागि आए पनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ ।


खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाले मिटरव्याजीले शान्तिपुर्ण धर्नाका लागि खुलामञ्च रोजेपछि, महानगरले सोमवार सबेरै मुल गेटमा ताला लगाई दिएको थियो । खुलामञ्चमा समेत बस्न पाएपछि मिटरव्याजीबिरुद्धको आन्दोलनमा सहभागीहरुले गएराति वीर अस्पताल अगाडीको सडक र माईतिघर मण्डलाको खुला चौरमा रात कटाएका छन् ।

मिटरब्याजीपीडितहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिएको उनीहरुले जनाएका छन् । पीडितहरुले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर प्रदर्शनमा समेत रोक लगाएको भन्दै नाराबाजी गरे ।


पीडितहरु महानगरले खुलामञ्च प्रवेश गर्न नदिँदा वीर अस्पतालअगाडिको सडकमै बसेर नाराबाजी गरे । पीडितले बालेन साह मुर्दावाद, मिटर ब्याजीलाई कारबाही गर्, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे, मिटरब्याजीको सम्पत्ति छानबिन गरजस्ता नारासमेत लगाएका छन् ।

Advertisement

सम्बन्धित खबर