काठमाडौ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ ।
चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ ।
नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज विहानै कलंकी स्थित् मकालु पेट्रोल पम्प लगाएतका क्षेत्रमा पुगेर अवलोकन गरेका छन् ।
.jpg)
निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकता जानकारी लिन स्थलगत निरीक्षण गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
.jpg)
मन्त्री श्रेष्ठसँगै चिनियाँ राजदूत ‘छन् सङ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत नेपालका लागि सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरू स्थलगत निरीक्षणमा पुगेका थिए ।
नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत आफूले गर्नुपर्ने साइट क्लियरको कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकेको छैन ।
साइट क्लियरको काम सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तारको कार्य अघि बढाउन अनुरोध गरेको थियो । चिनियाँ पक्षले भने शतप्रतिशत साइट क्लियर नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।
नेपाल सरकारले साइट क्लियरको काम सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्किएर फर्किएर गएको थियो । उक्त मन्दिर स्थानीयसँगको छलफल पछि हिजो भत्काईएको छ ।
करिब एक वर्षअघि पनि नेपाल पक्षले चिनियाँ पक्षलाई विस्तारको काम हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूमा रहेका दुईवटा बिजुलीका पोल नहटाएको भन्दै त्यस समयमा चिनियाँ पक्ष फिर्ता भएको थियो । एक वर्षको बीचमा नेपाल पक्षले बिजुलीका पोल भूमिगत गर्ने कार्य भने सम्पन्न गरेको छ । तर, आयोजनाअन्तर्गत विभिन्न ठाउँमा मठमन्दिर रहेका छन् भने स्वयम्भूको पुरातात्विक सम्पदा क्षेत्रभित्र पर्ने भाग र महाराजगन्जस्थित जग्गाको मुआब्जा विषय अझै टुंगिन सकेको छैन ।
.jpg)
आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिँदै आएको छ ।
यसअघि, गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने चक्रपथ स्थलगत निरीक्षण गरेको थियो । त्यसबेला टोलीले स्वयम्भूका दुई विद्युत्का टावर नहटाएको विषयलाई गम्भीर रूपमा लिएको थियो । स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभीका बिजुलीका टावर नेपाल विद्युत् प्राधिकरणले अहिले भने हटाइसकेको छ ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डमा नेपालले पहिला ‘साइट क्लियर’ अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ ।
चिनियाँ पक्षले शतप्रतिशत ‘साइट क्लियर’ नभएको कारण देखाउँदै विस्तार कार्य सुरु गर्न आनाकानी गर्दै आएको छ ।
चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने छ । स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडक यथास्थितिमा राखेर काम गर्न चिनियाँपक्ष तयार भएको हो । स्वयम्भू र सानो भ¥याङमा भने साइट क्लियर भईसकेको छ । कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स सत्प्रतिशत पूरा भएपछि विस्तारको काम सुरु हुन लागेको हो । कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८।२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको छ । तर नेपालले चीनसँग कलंकीदेखि चाबहिलसम्म ११।४६ किलोमिटर विस्तार गर्न आग्रह गरेको थियो । तर, महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर साइट क्लियरेन्स हुन नसकेका कारण यो क्षेत्रमा काम नहुने भएको हो । सडक विभागले महाराजगञ्ज क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा दिनु पर्नेछ ।
यसअघिको सरकारको पालामा परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक चीन भ्रमणका क्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो । चीनको स्टेट काउन्सिलर र पराराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै चिनियाँ सरकारले गर्ने भनिएका आयोजनाको काममा तीव्रता देखिएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay