Saturday Apr 18, 2026


कर्णालीका हिमाली जिल्लामा सिटामोल र जीवनजलको समेत अभाव

Image
६ माघ २०७९, शुक्रवार
Avatar
नेपालि खबर

सुर्खेत – कर्णाली प्रदेशका हिमाली जिल्लामा औषधि अभाव भएको छ । पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा परेका हुन् । सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधि निःशुल्क पाइने भनिए पनि धेरैजसो औषधिको अभाव छ । स्वास्थ्य संस्थामा पालिकाबाट खरिद गरी वितरण गर्ने औषधि अहिलेसम्म खरिद भएको छैन । 

मुगुको खत्याड गाउँपालिकाअन्र्तगत गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकाय गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउनुहुन्छ । जाजरकोटका स्वास्थ्य संस्थामा पनि बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । छेडागाड नगरपालिका नगर अस्पतालमा कार्यरत अहेब रामप्रसाद शर्माले औषधि खरिद प्रणालीबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताउनुभयो । 

कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा पारासिटामोल, एन्टिबाइटिक्स, जीवनजल लगायत सरकारले निःशुल्क दिने औषधिको अभाव छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधिको अभाव नरहेको दाबी गरेको छ । 

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले केही जिल्लामा औषधि अभाव भएको भन्ने सूचना आएकाले औषधि पठाउने काम भइरहेको जानकारी दिनुभयो । ‘जाजरकोटलगायत जिल्लामा औषधि अभाव भन्ने सूचना आएको छ । हामीसँग औषधि अभाव छैन’, उहाँले भन्नुभयो, ‘औषधि अभाव भए/नभएको बारेमा हामीले रिपोर्टिङ गरिरहेका छौँ, ती ठाउँमा औषधि पठाउने प्रबन्ध मिलाउँछौँ ।’

Advertisement

सम्बन्धित खबर