काठमाडौं । मिटरब्याज विरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् ।
आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए । आइतबार दिउँसो उनीहरू मातातीर्थको कुण्ड नजिकै रहेको पौवामा बसेका छन् । आइतबार बिहानै उनीहरू मकवानपुरको फाखेलबाट हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेको मातातीर्थ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश चौलागाईँले जानकारी दिए ।मिटरब्याजीको शोषणबाट ग्रसित भएर न्याय माग्दै चैत २ गतेदेखि काठमाडौंतर्फ पैदल यात्रा थालेको पीडितको टोली ११ दिनसम्म हिँडेर हिजो (शनिबार) राति मकवानपुर जिल्लाको सीमा क्षेत्रमा बास बस्यो । आज (आइतबार) बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित विद्यालयको प्राङ्गणबाट सवेरै काठमाडौका लागि हिंडेको टोली आज बेलुकीसम्म काठमाडौ आईपुग्ने छ । काठमाडौ आएर उनिहरु माग पुरा नभएसम्म घर फर्किने छैनन् ।
११ औं दिनको थकाइलाई बिर्सेर अघि बढ्न लागेका पैदलयात्रीहरु बास दिएकामा स्थानीय बासिन्दालाई धन्यवाद दिए । दुःखमा परेकाहरुलाई साथ दिने नेपालीहरुको संस्कार नै हो । इन्द्रसरोवरका बासिन्दाले बास मात्र होइन, राति खानेकुराको समेत प्रबन्ध गरिदिएका रहेछन् । शोषणमा परेकोमा उनीहरुलाई साथ दिएको बताउँदै स्थानीयले भने- राज्यले न्याय देओस् ।
११औं दिनसम्म लगातार पैदल हिँडेर आज (आइतबार) काठमाडौं प्रवेश गरेको पीडितहरुको समूहमा अधिकांश महिला छन् । साथमा बच्चा बोकेका आमा र बालबालिकासमेत छन् । उमेरले नेटो काटेका वृद्धहरु पनि चप्पलको भरमा मैदान, पाखा, पखेरा र खोंचहरु छिचोल्दै काठमाडौंतिर लम्किइरहेका छन् । उनीहरु रहरले हिँडेका होइनन्, न्याय पाइन्छ कि भनेर काठमाडौंतर्फ लम्किएका हुन् ।
साथमा झोला, पोका पन्त्यौरा छन् । प्रायः सबैका हातमा लठ्ठी छ । खाना पकाउने सरदाम, भाँडाकुँडा र बास बस्दा चाहिने सामानहरु एउटा गाडीमा राखिएको छ । मेस सञ्चालन गर्ने टोलीले त्यही गाडीबाट उनीहरुलाई पछ्याउँछ । बाटामा उनीहरु नारा लगाउँदै हिंड्छन् भने बास बसेका ठाउँमा स्थानीय जनतालाई आफ्ना पीडाहरु सुनाउँछन् ।
सरकारले गत साउन २७ गते माइतीघरमा धर्ना बसेका पीडितहरुसँग वार्ता गरेर उनीहरुका माग पूरा गर्ने वचन दिएको थियो । त्यसै दिन गृह मन्त्रालयले कार्यदलसमेत बनाएको थियो । सो कार्यदलले पीडितलाई न्याय दिने, दोषीलाई कारवाही गर्ने र मिटरब्याज नियन्त्रणका लागि कानून बनाउने भने पनि अहिलेसम्म माग पूरा नभएका पीडितहरु फेरि न्याय माग्दै काठमाडौं आएका हुन् ।
देशभरिका विभिन्न जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा विभिन्न जिल्लामा २२ सय भन्दा बढी मिटरब्याजी पीडितहरु छन् ।
आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने भएका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौँ नजिक आइपुगेका छन् । साँझसम्म काठमाडौँ आइपुगिने आन्दोलनमा सहभागी मनोज पासवानले बताए ।
तराईबाट ७१ जना पीडितहरू आन्दोलन गर्न काठमाडौँ आइरहेका छन् । उनीहरूमध्ये अधिकांश महिला छन् । आन्दोलनकारीहरूलाई बीच बाटोबाटै फिर्ता पठाउने प्रयाससमेत भएको थियो । मकवानापुरका प्रमुख जिल्ला अधिकारीले आन्दोलनकारीलाई भेटेर सरकार माग पुरा गर्न सकारात्मक रहेको बताउँदै त्यहीँबाट फर्किन आग्रह गरेका थिए । प्रजिअ राजेन्द्र देव पाण्डेले सहयोगको प्रस्ताव समेत गरे पनि आफूहरूले उनको प्रस्ताव अस्वीकार गरेको पासवानले बताए । ‘अब जे हुन्छ, काठमाडौँमै हुन्छ,’ न्याय नपाएसम्म नफर्किने तयारीका साथ आफूहरू काठमाडौँ आउन लागेको उनले बताए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay