Saturday Apr 18, 2026


फ्रान्स : पेन्सन योजनाविरुद्ध लाखौँ मानिस सडकमा, बोर्डो टाउन हलमा आगलागी

Image
१० चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

एजेन्सी ।पेन्सन पाउने उमेर बढाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शन चर्किएका बेला बोर्डो टाउन हलमा आगो लागेको छ । हिजो बेलुका दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो । कसरी आगलागी भयो खुलेको छैन । फ्रान्सका विभिन्न सहरमा गरी १० लाख मानिस सडकमा आएका तथा तीमध्ये एक लाख १९ हजार मानिस राजधानी पेरिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।


पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए । प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन् । सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो । विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि असर परेको बीबीसीले जनाएको छ ।


पेरिसमा फोहर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हड्ताल सुरु गरेका थिए र यो आउँदो सोमवारसम्म जारी रहने छ । गएको जनवरीयता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हड्तालसहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन् ।


फ्रान्समा अवकाश पाउने र पेन्सन पाउन सक्ने उमेर बढाउने कानुन बनाउने सरकारको योजनाका कारण समस्या निम्तिएको हो । तर निर्णयको पक्षमा मतदान गर्न संसदमा पर्याप्त समर्थन छैन । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोले यसलाई पारित गर्नु महत्त्वपूर्ण हुने बताउनुभएको छ।


त्यस्तै प्रधानमन्त्री एलिजावेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताउनुभएको छ ।

Advertisement

सम्बन्धित खबर