वाग्मती विशेष । काठमाडौबाट ६२ जना यात्रु सहित पोखराका लागि उडेको यती एअरको विमान आईतवार पोखरा विमानस्थल नजिकै अवतरणका लागि मोडीने क्रममा दुर्घटनामा परेको छ । विमानमा चालक दलका ४ सदस्य सहित ७२ जना सवार थिए ।
सेती नदिको खोँचमा खस्नु अघि विमान चालकले अवतरणका लागि पोखरा विमानस्थलसंग अनुमति मागेका थिए । त्यसको केहि मिनेट मै विमान सेती नदिको खोंचमा खस्यो । तथ्यांक अनुसार, नेपालमा ७२ यात्रु क्षमताको ए.टी.आर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।
आईतवार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको नाईन एन–ए.एन.सी जहाज दुर्घटना अघि अन्तिम मिनेटसम्म सम्पर्कमै रहेको थियो । काठमाडौंबाट विहान १० बजेर ३२ मिनेटमा उडेको जहाज अन्तिमक पटक पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो ।
पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानका चालकले अन्तिम समयमा विमान नियन्त्रण बाहिर गएपछि बस्ति छल्न खोज्दा सेतीको खोंचमा परेको विश्लेषण गरिएको छ । ३ जना बालबालिका तथा १५ जना विदेशी नागरिक थिए ।
नेपालको हवाई ईतिहासंमा आइतबारको दुर्घटना १०८ औं हो । पछिल्लो दुर्घटना बाहेक नेपालमा हालसम्म विमान दुर्घटनामा परेर ८३६ जना यात्रुको ज्यान गएको छ ।
यसअघी गएको बर्ष जेष्ठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका सानसुरे भीरमा दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो । त्यसपछि पुनः एउटै कम्पनी मातहत रहेको यती एअरको अर्को विमान दुर्घटनामा परेको हो ।
तारा र यती बाहेक, नेपाली आकाशमा चार वर्ष अघी, बंगलादेशबाट नेपाल आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मै दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार, सन् १९५५ देखि सन् २०२२ सम्म नेपालमा कुल १०८ वटा विमान दुर्घटना भएको छ, जसमध्ये ६५ वटा दुर्घटनामा मात्रै मानवीय क्षति हुँदा ८३६ जनाले ज्यान गुमाउनुपरेको छ । यसमा आईतवार पोखरामा भएको यती एअरको विमान दुर्घटनाको क्षेती पुनः थपएको छ ।
प्राधिकरणका अनुसार बहुइञ्जिन भएको ५० वटा विमान दुर्घटनाग्रस्त हुँदा २९ वटा विमान दुर्घटनामा ४ सय ३० जना मानिसको ज्यान गएको छ भने २२ वटा दुर्घटनामा कुनै मानवीय क्षति भएको देखिंदैन । यही अवधीमा नेपालको सिंगल इञ्जिन भएको कुल ८ वटा विमान दुर्घटनामा परेका छन् । जसमा २५ जनाको ज्यान गएको छ ।
यसैगरी नेपालमा अहिलेसम्म कुल ३७ वटा हेलिकप्टर दुर्घटना भएको छ । २१ वटा दुर्घटनामा मानवीय क्षति भएको छैन भने, १७ वटा दुर्घटनामा ५४ जनाको ज्यान गएको छ ।
यस्तै विदेशमा दर्ता भएका र नेपालमा उडान भर्दै आएका नौ वटा जहाज नेपालमा दुर्घटनाग्रस्त भएका छन् । यी दुर्घटनामा ३ सय ७३ जना मानिसको ज्यान गएको छ । नेपालमा हुने हवाई दुर्घटनाको ईतिहास हेर्दा, पहाडमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ । दृष्टि गौचर उडान विधि (भिजिबल फ्लाइट रूट) को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेका छन् ।
तर आईतवार भएको दुर्घटनामा विमानमा समेत प्राविधिक समस्या नदेखिएको एवं मौषम समेत अनुकुल रहेको अवस्थामा के कारण दुर्घटना भयो भन्ने प्रष्ट भईसकेको छैन । यती एअरको उक्त विमान भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय विमानस्थलमा अवतरणका लागि फन्को मार्ने क्रममा दुर्घटनामा परेको हो ।
यसैबीच, आइतबार बिहान पोखरामा यती एयरको एटीआर जहाज मेकानिकल समस्याको कारण दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक आँकलन गरेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मेकानिकल समस्याको कारणले जहाज दुर्घटना भएको जस्तो देखिएको बताए । जहाजमा ७२ जना यात्रु रहेका थिए ।
‘जहाज काठमाडौंबाट उड्नुभन्दा पहिले चेक जाँच भएको थियो । सबै प्रक्रिया पूरा गरेरमात्रै जहाज उडेको देखिन्छ’, सूचना अधिकारीले भने, ‘यो हेर्दा मेकानिकल समस्याको कारण जहाज दुर्घटना भएको हो कि जस्तो देखिन्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन– एएनसी जहाजमा कमल केसी पाइलट र अन्जु खतिवडा कोपाइलट थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोंचमा दुर्घटना भएको हो ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay