Wednesday Sep 09, 2026


रूस युक्रेन युद्धको एक बर्षः १ लाख सैनिकको मृत्यु, आणविक हतियार जम्मा गर्ने प्रतिश्पर्धा

Image
१२ फागुन २०७९, शुक्रवार
Avatar
कृष्ण तिमल्सिना

किभ (एजेन्सी)। दोस्रो विश्वयुद्धपछि अर्काको देशमा गरिएको सबैभन्दा ठूलो आक्रमणका रुपमा हेरिएको रुसले युक्रेन युद्धले एक बर्ष पार गरेको छ । गएको बर्षको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर औपचारीक रुपमा युद्धको सुरुवात गरेको थियो । सुरुका दिन युक्रेनले एक साता पनि रुसको सामना गर्न सक्दैन भनिएकोमा युद्ध एक बर्ष लम्विएको छ । एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन्, हजारौं सैनिक घाइते भएका छन् । रुस–युक्रेन युद्धको वर्षगाँठपछि यसले नयाँ मोड लिन थालेको छ । 

एक बर्षे युद्धको अवधीमा युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर भागेका छन् । ८ हजार भन्दा बढी गैरसैनिक ब्यक्ति मारिएको र १३ हजार बढी घाइते भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । तर अमेरिकी प्रशासनको दावीलाई मान्ने हो भने एक बर्षको अवधीमा मारिएका युक्रेनी अथवा रुसी सैनिकको संख्या स्पष्ट छैन र यो आंकडा दुवैतर्फ १ लाख भन्दा बढी हुनसक्छ । किनकी, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले दुई महिना अघि नै युद्धका क्रममा आफ्ना १३ हजार सैनीकले ज्यान गुमाएको विवरण बाहिर ल्याएका थिए ।

रुस युक्रेन युद्धको वर्षगाँठको अघिल्ले दिन राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ । तर एजेन्सीहरुले लेखेका छन् यो युद्ध रुस अथवा युक्रेनले मात्रै चाहेर लम्विई रहेको छैन । नाटो र अमेरिकाले अहिले युक्रेनको काँधमा बन्दुक राखेर रुस विरूद्ध युद्ध गरिरहेका छन् त्यसैले तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने संभावना निकै कमजोर छ । रुसले यथास्थितिमा हतियार विसाउने संभावना छैन । तै पनि रुस–युक्रेन युद्धको वर्षगाँठको अघिल्लो दिन बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको छ । प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका छन् भने ३२ देशले मतदान बहिश्कार गरेका छन् । रुससहित सात वटा मुलुक प्रस्तावको विपक्षमा उभिएका छन् । 

गएको बर्षको फेब्रुअरी २४ को बिहान युक्रेनको राजधानी किभमा रुसले पहिलो हमला गरेको थियो । त्यसयता रुसको हमलामा युक्रेन निरन्तर रक्षत्मक बनिरहेको छ र यो युद्धको असर पुरै विश्व अर्थतन्त्रमा परिसकेको छ । अझ आर्थिक क्रियाकलापका हिसावमा, युरोपेली देशहरु बढी प्रभावित् भएका छन् । युक्रेन युद्धले विश्वमा भयानक आप्रवासन अर्थात शरणार्थीको समस्या निम्त्याएको छ । जुन युरोपेली मुलुकहरुमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक देखिएको ठूलो मानवीय संकट हो । संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीका अनुसार युद्ध कै रापमा ८० लाखभन्दा बढीले युक्रेन छाडेका छन् र पोल्यान्डले मात्र १५ लाख युक्रेनीलार्ई शरण दिएको छ ।


युक्रेनका लागि यो युद्ध अहिले पनि ‘टर्निङ प्वाइन्ट’ अर्थात गर की मरको अवस्थाबाट गुज्रिरहेको छ । किनकी, विश्वका तोरै सम्पन्न राष्ट्रको सूचीमा पर्ने युक्रेन अहिले पश्चिमी मुलुकको ठूलो हतियार बजार बनेको छ । बदलिएको विश्व राजनीतिक धुव्रिकरणका बीचमा पश्चिमा देशले युक्रेनलाई रणनीतिक भुगोलका रुपमा प्रयोग गरिरहेका छन् । सुरुमा हिमर्स नामको अमेरिकी रकेट लन्चर दिएर राहतको अनुभुती गराएको अमेरिकाले अहिले न रूसी तोपलाई हुने गोला बारुदको आपूर्ति रोक्न सकेको छ न युक्रेनको राजधानी कीभसम्मै पुगेको रुसी सैनिकलाई फर्काउन भुमिका खेलेको छ । अहिले पनि दक्षिणपूर्वी युक्रेनको दोनबास क्षेत्रमा रुसी सेनाको अड्डा कायम छ । दोनबास क्षेत्रलाई रुसले स्वतन्त्र घोषणा गरेपछि युक्रेन नै पतन हुने आंकलन गर्न थालीएको छ । युक्रेनले आफ्नो भूमि फिर्ता लिन प्रति आक्रमण गरेपनि रक्षत्मक अवस्थामा छ । अहिले पनि हजारौं युक्रेनी भूमिगत आवासमा लुक्न अथवा ठूला सहर छाडेर भाग्न बाध्य छन् । किभ र खार्किभका सब वे स्टेसन नै असुरक्षीत् बन्न पुगेको छ । 

केही महिना मात्रै चल्ने अनुमान गरिएको युद्धमा रूसलाई हावी हुन नदिन, पश्चिमा देशले युक्रेनलाई सुरुमा साथ दिए र रुसलाई बहिश्कार गरे । तर उर्जा र हतियारका साथै सैन्य शक्तिका हिसावले बलियो रुसले यो एक बर्षको अवधीमा अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रा रुवेलको मुल्य बढायो, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो उर्जा बजार कै बलमा निरन्तर ‘विशेष सैन्य कारबाही’ चलाई रहे । युक्रेनको डोनेस्क र लुहा–नस्क क्षेत्र कब्जा गर्ने रणनीति रुसले अहिले पनि परिवर्तन गरेको छैन । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि पनि युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न चाहेको बताएका छन् । तर युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी थालेको छ । पुटिनले रूसी संघीय संसद्लाई सम्बोधन गर्दै गर्दा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू, नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका छन् । भारतको बैङ्लोरमा जी सेभेनका अर्थमन्त्रीको बैठक अनि अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीको युक्रेन दौडाहाले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की उत्साहित बनेका छन् । युद्ध निम्त्याउनेहरूलाई हराएरै छाड्ने उनको प्रतिबद्धताले, फेरि पनि युक्रेन संकट तत्काल समाधान नहुने प्रष्ट पारेको छ । 

Advertisement

सम्बन्धित खबर