Saturday Apr 18, 2026


इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र पार्टी समर्थकबीच झडप

Image
१ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौरस्थित उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच निवास बाहिर झडप भएको छ।


झडपका क्रममा थुप्रै मानिस घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।  खानका समर्थकलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने खानका समर्थकले पनि प्रहरीमाथि इंट्टा र ढुङ्गा प्रहार गरेका थिए। 


आफ्ना नेतालाई गिरफ्तार गर्न नदिने समर्थकहरुको अडानका कारण मंगलबार साँझदेखि सुरु भएको तनावपूर्णस्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेकोछ । 


यसैबीच बुधबार बिहानै चार बजेर २० मिनेटमा खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई गिरफ्तार गर्ने थप प्रयास जारी रहेको बताएका छन्। भिडियो सन्देशमार्फत सम्बोधन गर्दै खानले मंगलबारको अवस्थालाई भारतले अवैधानिक रुपमा कब्जामा लिएको जम्मु कश्मिरको स्थिति सरह भएको बताएका छन्।


इस्लामाबाद प्रहरीले १० दिनअघि पनि खानलाई गिरफ्तार गर्ने असफल प्रयास गरेको थियो। खानविरुद्धको तोसखाना सम्बन्धी मुद्दामा इस्लामाबाद जिल्ला अदालते गैर जमानती वारेन्ट जारी गरेको छ। सुनुवाइका लागि बारम्बार अनुपस्थित भएपछि अदालतले यस्तो वारेन्ट जारी गरेको हो।


खानले भने त्यसविरुद्ध उच्च अदालतमा अपिल गरेका छन् भने सो अपिलमाथि आज सुनुवाइ हुँदैछ। खानमाथि उनी प्रधानमन्त्री हुँदा विदेशी सरकारबाट प्राप्त उपहारहरु सरकारी कोष (तोसखाना) मा नबुझाई महंगो मूल्यमा बिक्री गरेको आरोप लगाइएको छ।


खानको गिरफ्तारी प्रयासको विरोधमा उनको पार्टीका समर्थकले देशका अन्य शहरमा पनि प्रदर्शन गरेका छन्। 

Advertisement

सम्बन्धित खबर