विराटनगर ।अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो ।
सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा पहिलो कार्यकालमा प्रदेश १ ले नाम पाएको थिएन । जबकी, बाँकी ६ वटै प्रदेशले आफ्नो पाँच वर्षे कार्यकालभित्रै आआफ्ना प्रदेशको नामाकरण गरेका थिए ।
एमालेले दर्ता गराएको ‘कोसी’ नामसम्बन्धी प्रस्तावको पक्षमा ८२ मत खसेको छ भने विपक्षमा ४ मत परेको छ । सभामुखसहित ९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६ सांसद अनुपस्थित थिए ।
एकीकृत समाजवादी र जसपाले भने प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गरेका थिए ।
अघिल्लो कार्यकालको अन्तिम अधिवेशनसम्म पनि ररकार र राजनैतिक दलहरूले जसरी पनि प्रदेशको नामाकरण गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरू प्रतिबद्धता पूरा गर्न असफल रहे ।
पहिचान र गैरपहिचानबारे दलहरूले सहमति बनाउन नसक्दा त्यस्तो अवस्था आएको थियो । पाँच वर्षको अवधिमा प्रदेश सभामा प्रस्तावसमेत दर्ता हुन सकेन । बरु राजधानीका विषयमा दलहरूबीच सहमति जुटेको थियो ।
प्रदेश १ सभाले २२ वैशाख ०७६ मा प्रदेशको स्थायी राजधानी विराटनगर हुने र संरचनाहरू आसपासका क्षेत्रमा रहने सहमतिमा बहुमतले टुंगो लगाएको थियो ।
अन्तिमसम्म पनि तत्कालीन सत्ताधारी दल एकीकृत समाजवादी र माओवादीले प्रदेशको नाम बहुपहिचानका आधारमा मात्र हुनुपर्ने अडान लिएको थियो । संघीय लोकतान्त्रिक मञ्चले प्रदेशको नाम लिम्बुवान किराँत हुनुपर्ने अडान लिएको थियो ।
कांग्रेसले सुरुमा भुगोलका आधारमा नामाकरण गरिनुपर्ने भने पनि पछि सप्तकोशी र त्यसपछि पहिचान पनि भेटिने गरी नामाकरणमा सहमति गर्न तयार रहेको जनाएको थियो । एमाले सुरुदेखि नै प्रदेशको नाम कोशी हुनुपर्ने अडानमा थियो ।
त्यही अडानमा रहेको एमालेले यसपटक सरकारको नेतृत्व गरेका वेला कोशी नाम रहने गरी प्रस्ताव दर्ता गराएको थियो । माओवादी र कांग्रेससमेत सो नाममा सहमत भएपछि प्रदेश १ ले नाम पाएको हो ।
कोशी प्रदेशमा आज सार्वजनिक विदा
प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज पनि केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाएपछि भड्कीएको आक्रोशलाई हिंसात्मक बन्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।
मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay