४० वर्ष पुरानो अर्थात सन् १९८३ मा स्थापित अमेरिकाको १६ औँ ठूलो सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । यस्तै यही साता सन् २००८ ताकाकै जस्तो आर्थिक मन्दीका कारण अमेरिकाको अर्को ठूलो बैक सिग्नेचर बैंक पनि टाट पल्टिएको घोषणा भयो ।
एस.भि.बी.को आर्थिक संकटलाई मध्यनजर गर्दै अमेरिकी नियामक फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडिआइसी)ले यो बंैक बन्द गर्र्न आदेश दिएको हो । लगत्तै एफडिआईसीले बैंकमा भएको निक्षेपलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
केही समयदेखि एसभिबी आर्थिक संकटबाट गुज्रिरहेको थियो । सोही संकटका कारण बैंकले आफ्नो पोर्टफोलियो झन्डै दुई अर्ब डलर घाटा खाएर बेच्नुप¥यो । यो खबरसँगै बैंकको सेयरमा एकै दिनमा ६० प्रतिशत सम्मको गिरावट आई रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एसभिबी टाट पल्टिएको खबरसँगै अन्तर्राष्ट्रिय सेयर बजारमा गिरावट आउन थालेको हो । अमेरिकाका साथै ठूलो युरोपियन बजारमा एकदेखि दुई प्रतिशतसम्मको गिरावट आएसँगै कारोबार बन्द भएको छ । बैंकका ग्राहक अधिकांश प्रविधि व्यवसायी, भेन्चर क्यापिटलिस्ट र रियल इस्टेट कारोबारी हुन् ।
उनीहरूले लिएको ऋणको सावाँ–ब्याज र किस्ता समयमै बुझाउन नसक्नु, खातामा पैसा जम्मा हुन नपाउँदै निकाल्नु आदिलाई बैंक टाट पल्टिनुको मुख्य कारण बताइएको छ । एसभिबी टाट पल्टिएको ४८ घन्टाले अमेरिकी इतिहासमै वित्तीय संस्थाको दोस्रो ठूलो असफलता देखाएको सिएनएनले उल्लेख गरेको छ । सो बैंक अमेरिकाका २० वाणिज्य बैंकमध्ये एक हो ।
एसभिबी टाट पल्टिएसँगै अन्तर्राष्ट्रिय बजारमा हलचल मच्चिन थालेको छ । सोमवार अमेरिकी सेयर बजारको मुख्य सूचकांक डाओ १.०७ प्रतिशत झ¥यो । यस्तै, स्मल क्याप दुई हजारको बिन्दु तीन प्रतिशतभन्दा बढीले गिरावट भयो । सिलिकन बैंकको प्रभाव युरोपियन बजारमा पनि देखिएको छ । बेलायतको सेयर बजार १.६७ प्रतिशत, फ्र्यांकफर्टको १.३१, पेरिस १.३० र रोमको सेयर बजारमा १.५५ प्रतिशतको गिरावट देखिएको थियो ।
बैंकका ग्राहकले धमाधम पैसा निकाल्न थालेका छन् । यही संकटबीच सिलिकन बैंकले आफूलाई बलियो बनाउन १.४५ अर्ब डलरको फन्ड जुटाउने घोषणा गरेको थियो । तर, उसको यो घोषणाले बैंकको आर्थिक स्थितिमाथि अनेकन् प्रश्न उठ्न थाल्यो ।
यो खबरले एसियाली बजार पनि राताम्य भएर बन्द भयो । हङकङको सेयर बजार ३.०४ प्रतिशत, सांघाईको १.४०, टोकियो १.६७ र बैंककको सेयर बजार ०.९० प्रतिशतको गिरावटसँगै बन्द भएका थिए । एसभिबीको मातृ कम्पनी बैंक एसभिबी फाइनान्सियल ग्रुपको सेयरमा पनि ७० प्रतिशतले गिरावट आएको छ ।
एसभिबीको आर्थिक संकट घोषणा हुदासम्म बैंकसँग दुई खर्ब नौ अर्ब डलरबराबरको सम्पत्ति थियो । बैंकको कुल निक्षेप एक खर्ब ७५ अर्ब डलरको छ । सन् २००८ पछि अमेरिकामा कुनै पनि बैंक यसरी टाट पल्टिएका थिएन । सो बैंकका ग्राहकले अढाई लाख डलरसम्मको बचतमा बिमा सुरक्षा पाउने प्रावधान छ ।
बैंकिङ फर्म लेहमन ब्रदर्सका कारण २००८ मा अमेरिका ठूलो बैंकिङ क्राइसिस (वित्तीय संकट) बाट गुज्रियो । यसको प्रभावले अमेरिकासहित विश्वमा मन्दी आयो । खासमा लेहमन ब्रदर्ससहित अमेरिकाका सबैजसो बैंकले त्यतिवेला उदारताका साथ ऋण लगानी गरेका थिए । सन् २००१ देखि २००६ सम्म बैंकहरूले अमेरिकी रियल इस्टेट क्षेत्रलाई फिर्ता कसरी आउँछ भन्ने नसोचीकनै जथाभावी ऋण बाँडे । त्यतिखेर अमेरिकी रियल इस्टेट (घरजग्गा कारोबार) चरम उत्कर्षमा थियो । बैंकले पनि मनग्य नाफा कमाए ।
नाफा कमाएसँगै कम्पनीलाई पनि उनीहरूको सम्पत्तिभन्दा बढी ऋण दिए । तर, यस क्षेत्रमा मन्दी आउन थालेपछि बैंकहरू समस्यामा पर्न थाले । एकातिर कम्पनी टाट पल्टिन थाले भने अर्कातिर बैंकको समस्या दिन–प्रतिदिन बढ्न थाल्यो । पछि सोही वर्ष लेहमनले आफू टाट पल्टिएको घोषणा ग¥यो, जसले गर्दा विश्वमै मन्दी सुरु भएको थियो ।
कहाँ धेरै लगानी ?
अमेरिकाको १६औँ ठूलो बैंक एसभिबीको लगानीको हिस्सा सबभन्दा बढी प्रविधि क्षेत्रमा थियो । हाल अमेरिकामा बढ्दो ब्याजदरबीच लगानीकर्ता सचेत बनेका छन् । बैंकका ग्राहकले धमाधम पैसा निकाल्न थालेका छन् । यही संकटको बीचमा सिलिकन बैंकले आफूलाई बलियो बनाउन १.४५ अर्ब डलरको फन्ड जुटाउने घोषणा गरेको थियो । तर, उसको यो घोषणाले बैंकको आर्थिक स्थितिमाथि अनेकन् प्रश्न उठ्न थाल्यो ।
सिलिकन भ्याली बैंकको असर स्टार्टअपमा पनि देखिने भएको छ । बैंकले भारतमा मात्रै २० स्टार्टअपमा लगानी गरेको छ । गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करिब १५ करोड डलर पुँजी जुटाएका थिए ।
समाचार संस्था रोयटर्सले एफडिआइसीलाई उद्धृत गर्दै सिलिकन बैंकको कार्यालय १३ मार्चमा खुल्ने बताएको छ । बिमा भएका निक्षेपकर्ताले आफ्नो निक्षेपको पैसा पाउनेछन् । तर, सन् २०२२ को डिसेम्बरसम्ममा बैंकको कुल निक्षेप एक खर्ब ७५ अर्ब डलर रहेकोमा ८९ प्रतिशत निक्षेपको बिमा थिएन । केही अन्तर्राष्ट्रिय समाचारले एफडिआइसीले सो बैंकलाई अन्य बैंकसँग मर्ज गर्ने कोसिस गरेको पनि उल्लेख गरेका छन् । यसो गर्दा असुरक्षित निक्षेपकर्तालाई सुरक्षित गर्न सकिने बताइएको छ ।
मनी कन्ट्रोलको एक समाचारअनुसार सो बैंकका प्रमुख कार्यकारी अधिकारी ग्रेग बेकरले बैंक टाट पल्टिएको घोषणा हुनुभन्दा दुई हप्ताअघि ३६ लाख डलरबराबरको सेयर बेचेका थिए । उनले बेचेको सेयर सिलिकन बैंकको प्यारेन्ट कम्पनी एसभिबी फाइनान्सियल ग्रुपको थियो ।
मन्दी आउला त ?
विश्लेषकहरू भन्छन्– एसभिबीको अधिकांश रकम प्रविधि उद्योगमा लगानी भएको छ, जसले गर्दा वित्तिय क्षेत्रमा यसको प्रभाव कम पर्ने देखिन्छ । बैंक टाट पल्टिनुले कतै सन् २००८ कै मन्दी त आउँदैन भन्ने चिन्तासहितको प्रश्न उठेको छ । तर, अधिकांश बैंकसँग यस्तो समस्यासँग जुध्न पर्याप्त पुँजी रहेकाले यस्तो स्थिति नआउने विश्लेषण छ ।
अमेरिकादेखि भारतसम्मका स्टार्टअप
सिलिकन भ्याली बैंकको असर स्टार्टअपमा पनि देखिने भएको छ । यस्ता स्टार्टअप अमेरिकादेखि भारतसम्मका छन् । सो बैंकले भारतमा मात्रै २० स्टार्टअपमा लगानी गरेको छ । स्टार्टअप रिसर्च एडभाइजरी ट्र्याक्सनका अनुसार सन् २००३ मा बैंकले भारतीय स्टार्टअपमा लगानी गरेको थियो । यद्यपि, यो आलेख तयार पार्दासम्म कति लगानी गरेको थियो भन्ने ठोस तथ्यांक सार्वजनिक भएको छैन ।
गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करिब १५ करोड डलर पुँजी जुटाएका थिए । भारतमा यो बैंकको सर्वाधिक लगानी तीव्र गतिमा विकास भइरहेका सास (सफ्टवेयर एज अ सर्भिस) कम्पनीहरूमा छ । यसबाहेक ब्लुस्टोन, पेटिएम, वन–९७ कम्युनिकेसन्स, पेटिएम मल, नापतौल र लोयल्टी रिवार्डजजस्ता स्टार्टअपमा पनि लगानी छ । सिलिकन बैंक टाट पल्टिएपछि त्यसको असर यी कम्पनीमा पनि नपर्ला भन्न सकिन्न ।
सन् २०२२ को अन्त्यसम्म बैंकको सम्पत्ति २०९ अर्ब डलर र निक्षेप १७५.४ अर्ब डलर रहेको थियो । यस रकमको ८९५ बीमा गरिएको थिएन । ग्राहकको जम्मा २ सय ५० हजार डलर एफडीआईसीद्वारा कभर गरिएको छ । अर्थात् बैंक बन्द भएपछि पनि यो रकम ग्राहकलाई फिर्ता गरिने छ । यद्यपि यसभन्दा बढी रकम आफ्नो खातामा जम्मा गरेका निक्षेपकर्ताले आफ्नो सबै रकम फिर्ता पाउने वा नपाउने भन्ने कुनै ग्यारेन्टी छैन ।
एफडीआईसी ले त्यस्ता ग्राहकहरूलाई प्रमाणपत्र जारी गर्ने र यस अन्तर्गत कोष असुली भएपछि पहिले उनीहरूको रकम फिर्ता गरिने जनाएको छ । सिलिकन भ्याली बैंकसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो ।
सिलिकन भ्याली बैंकले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौँ डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन भने सकेन ।
नेपाली बैंकले सिक्नु पर्ने पाठ
पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ अवस्थामा छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको समस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैैंक एकपछि अर्को कडा नीति अघि सारेर वित्तीय संस्थाहरुप्रति झन कठोर बनिरहेको छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिको मौन विरोध गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले बढी ब्याजदर भयो भनेर विरोध जनाइरहेको बेला नियामक राष्ट्र बैंकले नै बढी ब्याजलाई नै प्रशय दिइरहेको उसको नीतिबाट प्रष्ट हुन्छ ।
अहिले राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गरिरहेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर छ । तर, चैतदेखि भने घट्ने बताइएको छ । राष्ट्र बैंकले नै ब्याजदर बढाउने नीति अघि सार्दा यसले सेयर बजारलाई असर गर्ने धेरैको बुझाइ छ । सेयर बजारमा आएको गिरावट नै सिलिकन भ्याली बैंक टाट पल्टिनुको एउटा प्रमुख कारण भएको धेरैको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो घटनाबाट नेपाली बैंकहरुले पनि धेरै पाठ सिक्नु पर्ने बताउँछन् । नेपाली बैंकहरुले बैंक जति ठूलो भयो त्यति धेरै जोखिम हुने, कर्जा लगानी एउटै ठाउँमा मात्रै गर्न नहुने, अधिक तरलता हुनु पर्ने र बैंकहरुको समस्यामा नियामकले सहयोग गर्नु पर्ने लगायतका विषयहरु बुझेर अगाडि बढ्नु पर्ने उनको राय छ ।
सिलिकन भ्याली बैंक जस्तो ठूलो बैंक डुब्नाले पनि धेरै ठूलो जनमानसमा आर्थिक क्षति पुर्याएको छ र अझै पुर्याउन सक्छ । पछिल्लो समय नेपाली बैंक पनि ठूलो बन्ने लहर सुरु भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेर बैंक ठूलो बनाउने रणनीति बनाइरहेको छ । यदि त्यो बैंकमा कुनै दिन समस्या आउने वित्तिकै त्यसले ठूलो जनमासनमा असर पर्ने थापाको भनाइ छ ।
यस्तै, सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा बढी लगानी गरेको थियो । पूर्व कार्यकारी निर्देशक थापका अनुसार बैंकले एउटै क्षेत्रमा लगानी गर्नु राम्रो होइन । ‘सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा मात्रै लगानी गरेको थियो, अब यो घटनाले त्यस बैंकले लगानी गरेको क्षेत्रमा पनि असर पर्ने भयो, नेपालमा पनि घरजग्गा र सेयर बजामा बैंकहरुले बढी लगानी गर्छन्, ती क्षेत्रमा समस्या आयो भने बैंकहरु पनि ठूलो समस्यामा पर्न सक्छन्,’ उनले भने ।
यस्तै, बैंकहरुले तरलता अनुपात प्रयाप्त राख्नु पर्ने थापाको धारणा छ । अधिक तरलता .नराख्दा पनि बैंकमा समस्या आउन सक्छ । पछिल्लो समय नेपाली बैंकिङमा बैंकको ९० प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को विषयमा व्यापक विरोध पनि हुने गरेको छ । तर, बैंकहरुले यो भन्दा पनि बढी तरलता राख्नु पर्ने थापाको तर्क छ । उनले बैंकमा अधिक तरलता राख्दा जस्तोसुकै समस्या आएपनि बैंकले समाधान गर्न सक्ने क्षमता राख्ने बताए । यस्तै, उनले नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने राय दिए । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सहुलियत दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले पनि सहुलियत दिन पछि हट्नु हुन्न,’ थापाले भने ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay