Wednesday Sep 09, 2026


टर्की भूकम्प: अहिलेसम्म ३ सयभन्दा बढीको मृत्यु

Image
२३ माघ २०७९, सोमवार
Avatar
नेपालि खबर

एजेन्सी । सोमबार बिहानै टर्कीमा ११ मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। 

टर्कीका गृहमन्त्री सुलेमान शोयलूले भूकम्पको ठूलो असर देशका मुख्य १० सहरमा बढी परेको बताएका छन्। कहमानमारश, हेटे, गाजिएनटेप, आस्मानिए,  अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस सहर सबैभन्दा बढी प्रभावित बनेका छन्। 

साथै सीरियामा पनि ठूलो क्षति भएको छ। टर्की र सीरियामा गरी अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको गृहमन्त्री सुलेमानले बताएका छन्। मृतकको संख्या बढिरहेको उनको भनाइ छ। 

टर्की सरकारले आपतकाल घोषणा गरेको छ। मृतकमध्ये सीरियाका २३७ जना रहेको सीरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। जहाँ ६०० भन्दा बढी घाइतेहरुको उद्धार गरिएको छ। यता टर्कीका भने अहिलेसम्म ७६ जनाको शव निकालिएको र ४४० भन्दा बढी घाइतेको उद्धार गरिएको छ । 

सीरियाको अलेप्पो, लटाकिया, हामा र टार्टस सहरमा भूकम्पका कारण धेरै क्षति भएको छ। कैयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् । 

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय डेभलपमेन्ट एजेन्सीलाई सहयोग पुर्‍याउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। ह्वाइट हाउसका सुरक्षा सल्लाहकार जेक सुलिभनले टर्की र सीरियामा गएको भूकम्पले अमेरिका चिन्तित भएको बताएका छन्। 

यता नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि टर्कीको भूकम्पप्रति दुख व्यक्त गरेका छन्। सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेटमा ७.८ रेक्टरस्केलको पहिलो भूकम्प गएको थियो। त्यसकै ११ मिनेटपछि फेरि ६.७ रेक्टरस्केलको भूकम्प गएको थियो। 

Advertisement

सम्बन्धित खबर